विराटनगर । एक साता अघिमात्रै एसोसिएट टिमहरूका लागि हेभीवेट मानिने प्रशिक्षक पुबुदु दासानायकेलाई प्रमुख प्रशिक्षकका रुपमा भित्रउँदै गर्दा विराटनगर किङ्सले उत्साह प्रकट गरेको थियो ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने यो फ्रेन्चाइजी टोलीका मालिकमध्येका एक सुयस प्याकुरेलले त्यसबेला उद्घोषसँग भनेका थिए, ‘यसपटक हामी उत्साही छौं । उपाधिको दाबेदार हौं ।’
गतवर्ष एनपीएलमा विर्सनलायक प्रदर्शन गरेको टिमले यसपटक उपाधि जित्ने दाबी गर्नु महत्वाकांक्षा मात्रै हो कि आत्मविश्वास बढाएको प्रमाण ? यो प्रश्नबीच विराटनगर किङ्सले मंगलबार त्रिभुवन विश्वविद्यालयको मैदानमा जे गर्यो, त्यसले टिम व्यवस्थापनको दाबी महत्वाकांक्षा मात्रै नभएको संकेत गरेको छ । त्यसो त एनपीएलमा विराटनगरले तय गर्नुपर्ने यात्रा लामै छ ।
यद्यपि आफ्नो पहिलो खेलमा कीर्तिमानी स्कोर खडा गरेर पोखरामाथि जीत हात पारेर विराटनगरले यसपटक आशावादी सुरुवात भने गरेको छ ।
गतवर्ष विराटनगरले खेलेका सात खेलमध्ये ५ हार र दुई मात्र जीतले विराटनगरलाई आठ टोली सहभागी प्रतियोगितामा छैटौं स्थानमा खुम्च्याएको थियो । यसपटक भने सुरुआत सुखद बनेको छ ।
पहिलो दुई अंक जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र ड्यान डाउवेर्थले २९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा विराटनगरका प्रतिश जिसी, शुभम रञ्जाने, मार्चन्ट डि लिङगे र कप्तान सन्दीप लामिछानेले दुई÷दुई तथा बसिर अहमद र सूर्य तामाङले एक÷एक विकेट ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो ।
यो एनपिएल इतिहासकै उच्च स्कोर थियोे । यसअघि गत संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो । विराटनगरले यसपटक आफ्नै रेकर्डलाई तोड्यो ।
यसमा लोकेश बम र मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेले । गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन हिर्काए ।
लोकेश ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रनमा आउट भए । गुप्टिल र लोकेशले दोस्रो विकेटका लागि १३२ रनको साझेदारीसमेत गरे ।
यस्तै, शुभम रन्जनेले १६ बलमा ३८, बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे ।
बलिङतर्फ पोखराका मार्ट टेलरले २, आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिए ।
सन्तुलित टिम भएकाले जित सहज : लामिछाने
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सन्तुलित टिम भएकाले पोखरा एभेञ्जर्स विरुद्धको जित सहज भएको बताए ।
एनपिएलको तेस्रो खेलमा पोखरा एभेञ्जर्सलाई ५३ रनले पराजित गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “प्रतियोगिताको सुखद सुरूआत भएको छ, आगामी दिनमा अझ मेहिनतका साथ खेल्ने छौँ, सुधार गर्नुपर्ने धेरै कुरा छ ।”
पोखरा सामू विशाल लक्ष्य बनाएकाले बलिङमा दबाब नपरेको उनले बताए ।
विराटनगर किङ्समा प्रशिक्षकका रुपमा पुबुदु दसानायके र खेलाडीका रूपमा फाप डु प्लेसिस आउन बाँकी रहेको उल्लेख गर्दै उनले त्यसपछि टिम थप सन्तुलित बताए । पोखराका कप्तान कुशल भुर्तेलले बलिङ राम्रो नभएको बताए ।
“टस जितेपछि बलिङ रोजेका थियौँ, तर धेरै रन खर्चियौँ”, उनले भने, “हाम्रो सुरुआती ब्याटिङ राम्रो भए पनि साझेदारी हुन सकेन ।”
एकैदिन पाँच अर्धसतक
एकैदिन पाँच अर्धशतक सम्पन्न दुई खेलमा पाँच वटा अर्धशतक प्रहार भए । पहिलो खेलमा कर्णाली याक्सका प्रियान्क पञ्चाल अर्धशतक बनाएका थिए ।
उनले चितवन राइनोजविरूद्ध ४८ बल खेल्न क्रममा ९० रन बनाए । सोही खेलको दोस्रो पारीमा चितवनका लागि रवी बोपराले पनि अर्धशतक पूरा गरे ।
उनले ३६ बल खेल्दै ५२ रन बनाए । आजै भएको दोस्रो खेलमा विराटनगरका लोकेश बम र मार्टिन गुप्टिल अर्धशतक प्रहार गरे ।
मार्टिनले ३५ बल खेल्दै ६१ रन बनाए । लोकेश बमले ४७ बलमा ७२ रन बनाए ।
पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले पनि अर्धशतकीय पारी खले । भुर्तेल ३१ बलमा ५९ रनमा आउट भए ।
जारी प्रतियोगिता अन्तरगत आज बुधबार काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुने जनाइएको छ ।
View : 179
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved