Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ट्राफिक प्रहरीले पक्रेको थियो नक्कली नोट

ट्राफिकले जेकजाँच थालेपछि गाडीभित्र रहेको बोराका विषयमा सोधपुछ गर्दा बोराभित्र ब्याग भेटिएको थियो । ब्यागको चाबी अगाडिको गाडीमा छ भन्दै एक जना स्कारपियोबाट निस्किएपछि उनी फर्किएर आएनन् ।
उद्घोष सम्वाददाता
३ फागुन २०८०, बिहिवार

विराटनगर । नेपाल प्रहरीको सवारी साधन र सडकको ध्यान राख्न परिचालन गरिने ट्राफिक प्रहरीले पाएको ठुलो उपलब्धी गोप्य राखिएको छ । सुनसरीमा नक्कली नोट, मानिस र गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको विषय सार्वजनिक भएको छैन ।

सोमबार सुनसरी इनरुवास्थित सुनसरी खोलाको पुल छेउबाट ट्राफिक प्रहरीले एक हजार रुपैयाँ दरका १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियो जीप र त्यसका चालकलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार पत्रकार सम्मेलन गरेर यस बारे सार्वजनिक गर्दा ट्राफिक प्रहरीले गरेको सफलताको सूचना गोप्य राखियो ।

प्रहरी उपरीक्षक विपिन रेग्मीले जिल्ला प्रहरी कार्यालय सुनसरीले पाएको सफलताको कथा सार्वजनिक गरेका थिए । भारतमा छपाइ गरी नेपालमा बिक्री गर्ने उद्देश्यले ल्याइएको नोटसहित भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदसमेत नियन्त्रणमा छन् । ट्राफिक प्रहरी हवल्दार विशाल प्रधान र जवान लालबाबु राय राजमार्गमा जेकजाँचमा खटिएका थिए ।

स्थानीयका अनुसार दुई जना मात्रै ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा स्कारपियो रोकेर कागजात खोजिएको थियो । ट्राफिकले जेकजाँच थालेपछि गाडीभित्र रहेको बोराका विषयमा सोधपुछ गर्दा बोराभित्र ब्याग भेटिएको थियो । ब्यागको चाबी अगाडिको गाडीमा छ भन्दै एक जना स्कारपियोबाट निस्किएपछि उनी फर्किएर आएनन् । ‘ब्यागको चेन छेउमा उध्रिएको देखिएपछि औंला छिराएर छाम्दा नोट रहेको पाइएको थियो’ स्रोतले भन्यो ।

नोट देखिएपछि हवल्दार प्रधानले गाडी चलाएर मानिस, गाडी र नोट जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । पछि जिल्ला प्रहरी कार्यालयले मानिस, नोट र गाडीलाई सुनसरी खोलाकै छेउमा ल्याएर पुनः बरामदको कागजात बनाएको थियो । ‘हतियार नबोक्ने ट्राफिकले पाएको सफलता गोप्य राखिदो रहेछ’ एक जना अधिकृतले भने ।

सुनसरी प्रहरीले ट्राफिक प्रहरीले पाएको सफलता सार्वजनिक नगरे पनि गोप्य रुपमा पुरस्कृत गर्ने तयारी गरेको बुझिएको छ । सुनसरी प्रहरीको उपस्थिति बेगर नै ट्राफिकले यतिको ठुलो कारवाही गरेको बारे प्रहरी बिभागमा पनि गोप्य नै रहेको छ ।

तर कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी मोहनबिक्रम दाहाल भने प्रहरीसँगको संयुक्त चेकजाँचमा गाडी, मानिस र नक्कली नोट बरामद भएको बताउँछन् । ठुलो परिणाममा नक्कली नोट बरामद भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले मातहतको निकाय प्रमुखलाई सो विषयमा स्पष्टीकरण सोधेको बुझिएको छ ।

View : 255

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved