विराटनगर । बाढीको अवस्था सिर्जना हुँदा विपद् व्यवस्थापनमा खटिने टोलीलाई पुनर्ताजगी गर्न जिल्लास्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ ।
विराटनगर–रंगेली सडक खण्डमा पर्ने रामचोकस्थित लोहन्द्रा पुल वारिपारि दुवैपट्टि बुधबार बिहानैदेखि स्थानीय र सुरक्षाकर्मीको बाक्लो भीड थियो । जहदा गाउँलिकाको वडा नम्बर ४ मा पर्ने लोहन्द्रा खोलाको दक्षिण किनारमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो भने दक्षिणतर्फ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित नेपाल रेडक्रस सोसाइटीलगायत संचारकर्मीहरूको उपस्थिति थियो ।
खोलाको उत्तरी तटमा दुई थान रबर बोटसहित उद्धार टोली तम्तयार अवस्थामा देखिन्थ्यो । यत्तिकैमा पूर्वतर्फबाट केही ब्यक्ति बाढीमा बग्दै ज्यान जोगाइदिन गुहार गुहार भन्दै चिच्याएको दृश्य देखियो । लगत्तै तयारी अवस्थामा बसेका उद्धार टोलीका सदस्यहरू खोलामा बोट उतारे र बाढीको भेलमा बग्दै आएका व्यक्तिहरूतर्फ लम्किए । नजिकै पुगेपछि उद्धार टोलीका एकजना सदस्य खोलामा हाम्फाले र बगिरहेका व्यक्तिलाई समातेर बोटमा राखी उद्धार गरियो ।
लगत्तै बग्दै आएका अन्य व्यक्तिहरूलाई समेत बोटकै माध्यमबाट उद्धार गरी खोला किनारसम्म ल्याइयो । खोला किनारसम्म ल्याइएका घाइतेलाई तत्कालै स्ट्रेचरमा राखेर एम्बुलेन्सबाट नजिकैको स्वास्थ्य केन्द्रसम्म लगियो । लोहन्द्रा खोला किनारमा देखिएको यो दृश्य बाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रमको हो ।
बाढीको अवस्था निम्तिदा सिर्जना हुनसक्ने जोखिमको अवस्थामा तत्काल उद्धार तथा आवश्यक उपचारलगायतका बन्दोबस्त गर्न सरोकारवालाले खेल्नुपर्ने भूमिकाको अभ्यासस्वरूप यो कार्यक्रम गरिएको हो । जसका लागि वास्तविकझैं लाग्ने अवस्था सिर्जना गरेर अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
अभ्यास कार्यक्रममा विभिन्न टोलीहरू गठन गरी खटाइएको थियो । सबै टोलीहरूले आफूलाई दिइएको भूमिका जिम्मेवारीपूर्वक वहन गरेका थिए । यस प्रकारको अभ्यासले वास्तविक विपत्ति निम्तिदा जोखिम न्यूनीकरण गर्न सघाउ पुग्ने जहदाका अध्यक्ष जीतेन्द्रप्रसाद साहले बताए ।
जिल्ला विपद् व्यवस्थापन समिति, मोरङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोग र सीआइएफआरसीको सहयोगमा अभ्यास कार्यक्रम गरिएको हो ।
View : 116
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved