विराटनगर । उद्योगमा जडित ‘हिटिङ, भेन्टिलेसन, एसी प्रणाली तथा औद्योगिक कम्पोनेन्ट र उपकरण मर्मत कार्यमा संलग्न रहने प्राविधिकहरूलाई प्रदान गरिएको २४ दिने सीप स्तरोन्नति तालिम सम्पन्न भएको छ ।
मोरङ उद्योग व्यापार संघ र इन्स्योर परियोजनाको सहकार्य तथा हेल्भेटास नेपालको सहयोगमा चैत १ गतेदेखि तालिम दिइएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले विगतदेखि नै संघले औद्योगिक, व्यवसायिक प्रतिष्ठानहरूका प्राविधिक जनशक्तिलाई आवश्यक पर्ने विभिन्न विषयगत सीप विकास तालिम प्रदान गर्दै आएको बताए ।
उनले इन्स्योर तथा हेल्भेटससँगको सहकार्यमा आयोजित यस तालिमले उद्योग, होटल तथा अस्पताल क्षेत्रमा कार्यरत इलेक्ट्रिसियनहरूको दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
संघका कार्यकारिणी सदस्य अमित राठीको संयोजकत्वमा मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा कार्यरत मेकानिकल क्षेत्रका प्राविधिकलाई लक्षित गरी यो तालिम प्रदान गरिएको जनाइएको छ ।
तालिमले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिको सीप अभिवृद्धि गरी उत्पादन क्षमता वृद्धि तथा उद्योगहरूको समग्र कार्यक्षमता सुदृढ बनाउन मद्दत पुगेको राठीले बताए ।
इन्स्योर परियोजना सहजीकरण इकाई कोशी प्रदेशका प्राविधिक संयोजक रेखा उप्रेतीले यस प्रकारका तालिमहरूले औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
प्रशिक्षार्थीहरूले पनि तालिम अत्यन्तै प्रभावकारी र उपयोगी रहेको बताएका थिए ।
कुल ९६ घण्टे सो तालिममा विभिन्न उद्योग, होटल तथा अस्पतालमा कार्यरत २० जना इलेक्ट्रिसियन सहभागी रहेको जनाइएको छ ।
View : 131
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved