विराटनगर । उच्च खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पानीको बहाव ह्वात्तै घटेको छ ।
आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा धेरै बहाव मापन भएको कोशीमा अपरान्ह साढे दुई बज्दा झण्डै आधामात्रै पानी बगिरहेको छ ।
साढे दुई बजेको मापन अनुसार कोशी ब्यारेजबाट ३ लाख ९८ हजार ३७० क्युसेक पानीको बहाव छ ।
कोशीको बहाव हिजोभन्दा आज आधा नै घटेपछि सुनसरी प्रशासनले अहिले केहीबेरमै कोशी ब्यारेजको पुलबाट आवतजावत खोल्ने तयारी अघि बढाएको छ ।
‘अहिले पुलमा सरसफाइ चलिरहेको छ’, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भने– ‘अबको आधा एक घन्टापछि कोशी पुलबाट आवतजावत खुला हुनेछ ।’
सुनसरी प्रशासनले शनिबार दिउँसो ४ बजे यता पुलमाथिबाट पैदलयात्रीलाई पनि आवतजावतमा रोक लगाएको थियो ।
यसअघि सप्तकोशी नदीमा पानीको बहावले खतराको संकेत पार गर्दै साढे ६ लाख क्युसेकभन्दा बढिको रेकर्ड बनाएको थियो । झरी रोकिएपछि आइतबार बिहानदेखि जलसतह विस्तारै घट्न सुरु भएको हो ।
आइतबार बिहान कोशी ब्यारेजमा सबैभन्दा उच्च बहाव ६ लाख ६१ हजार ०५ क्युसेक रेकर्ड भएको हो ।
उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेज माथिबाटै पानी बगेको थियो ।
शनिबार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने बढेको बढ्यै थियो । कोशी नदीमा लेदोयुक्त बाढी अत्याधिक रहेको छ ।
बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले जारी गरेको पूर्वानुमान अनुसार वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुने आकलन गरिएको थियो । जुन हालसम्मको अधिकतम बहावको नजिक हुने बताएको थियो ।
जलसतह घट्दै गएपछि कोशी तटीय क्षेत्रमा कटानको जोखिम बढ्न सक्ने सम्भावना रहेको स्थानीयबासीले चिन्ता व्यक्त गरेका छन् ।
View : 198
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved