काठमाडौँ, २५ साउन । प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयंले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले आज यहाँ आयोजना गरेको ‘आरआर जर्नल’ विमोचन तथा अन्तक्र्रियामा क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले आरआर क्याम्पस पत्रकारिता प्रशिक्षणको प्रमुख केन्द्र भएको बताउँदै सञ्चार क्षेत्रमा पनि विकृति, विसङ्गति विद्यमान रहेकाले त्यसको अन्त्य पत्रकारहरूले नै गर्नुपर्नेमा जोड दिए ।
“सञ्चार क्षेत्रले समाजलाई सही दिशामा डोर्याउने भएकाले सञ्चारकर्मीले पेसाप्रति इमान्दार भएर काम गर्नुपर्छ”, उनले भने ।
विषय शिक्षक, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागका प्रमुख शन्तराम विडारीले गुणस्तरीय पत्रकारिता शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताउँदै समाचार कक्षलाई कक्षाकोठासँग जोडेर अध्यापन जारी राखेको जानकारी दिए ।
उनले पत्रकारितालाई मर्यादित र गुणस्तरीय बनाउनु आजको आवश्यकता भएको बताए ।
पत्रकारिता विभाग प्रमुख डा जगत् नेपालले पत्रकारितामा नवप्रवेशीहरुका धेरै अवसर छन् भन्दै उनीहरूलाई पेसाप्रति समर्पित भएर काम गर्न आग्रह गरे ।
त्यस अवसरमा पत्रकारिता गर्दै पढ्दै गरेका कमलकृष्ण विष्ट, फोमस भण्डारी, अञ्जिता पोखरेल, समिता ढकाल, प्रकाश कपाली, हरेराम भेटवाल, प्रेरणा आचार्य र भीमबहादुर लामाले पत्रकारिताका अनुभव सुनाएका थिए । रासस
View : 327
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved