Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’

उद्घोष सम्वाददाता
२९ कार्तिक २०८१, बिहिवार

मोरङ, २९ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताएका छन् ।

प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा यहाँ आयोजित मुख्य न्यायाधिवक्ताको छेटाैँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले यो शासन व्यवस्था स्थापना भएको १० वर्ष भएकाले यसको राम्रा र कमजोर पक्षको सिंहावलोकन गर्दै आगामी दिनको बाटो तय गर्नुपर्ने उल्लेख गरे ।
    
मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाउँदा शान्ति सुरक्षा, विकास र जनतासँग नजिकको सम्बन्ध स्थापित हुने धारणा राखे । उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश संरचनाले पूर्वाधार विकासमा उल्लेखनीय कार्य, बेरुजु कम जस्ता उल्लेख हुनु सुखद भएको बताए । 

उनले संविधान संशोधन गर्दा संविधानका कमीकमजोरी हटाइ निर्वाचनमा राजनीतिक दलले बहुमत प्राप्त गर्ने किसिमले संशोधन गर्नुपर्ने सुझाव दिए ।

कोशी प्रदेशका  सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभाका मुख्य न्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताको सुझावले कानुन निर्माणमा सहयोग पुग्ने जानकारी दिए । उनले कानुन जनस्तरमा पुर्याउन ६३ स्थानीय तहमा अन्तरक्रिया गरेको बताए ।

महान्यायाधिवक्ता रमेश वडाल, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रदेशका मुख्य महान्यायाधिवक्ता  नारायण वस्ती, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, पूर्व मुख्य न्यायाधिवक्ताद्वय वुद्धिबहादुर कटुवाल, चुडामणि आचार्य र सह न्यायाधिवक्ता निर्मला दाहालले संविधान कार्यान्वयनमा सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रदेश कानुन निर्माणमा देखा परेका समस्या समाधानका सम्बन्धमा छलफल, मुख्य न्यायाधिवक्ताको कार्यालयमा आउने समस्या समाधानका उपाय, सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताका कार्यसम्पादनका अनुभव आदानप्रदान गर्ने सम्मेलनको उद्देश्य छ ।

दुई दिने सम्मेलनमा सात प्रदेशका मुख्य न्यायाधिवक्ता, कार्यालय प्रमुख, उच्च अदालत, जिल्ला अदालतका न्यायाधीश, उच्च र जिल्ला वारका प्रतिनिधिको सहभागिता रहेको छ । रासस

View : 38

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved