विवेक कर्णको अफिसबाट शंकास्पद रकम चोरी प्रकरण
विराटनगर । कार्यालयमै काम गर्नेहरुबाट रकम चोरी भएको हुनसक्ने अनुमान गरेर प्रहरीले विराटनगरको एक घटनामा पोलिग्राफको प्रयोग गरेको छ । विराटनगर–३ मा रहेको पाथीभरा जब प्लेसमेन्ट तथा खडक देवी निर्माण सेवा प्रालिको कार्यालयबाट गत महिना १४ लाख ४८ हजार रुपैंयाँ चोरी भएको थियो ।
चोरीमा संलग्न व्यक्तिको खोजीमा कोशी प्रदेश प्रहरी कार्यालयले पोलिग्राफ मेसिनको प्रयोग गरेर शंका लागेका मानिसलाई सोधपुछ गर्न थालेको छ । शंकास्पद एवं आरोपीलाई पोलिग्राफ परीक्षणबाट सत्यतथ्य ओकल्न लगाइन्छ ।
चोरिएको डेढ महिना हुँदा पनि सीसीटीभी फुटेजमा देखिएका शंकास्पद व्यक्तिको पहिचान हुन नसकेपछि प्रहरीले यो परीक्षण गर्न थालेको हो ।
सोमबार र मंगलबार एक- एक जनाको परीक्षण गरिएको छ । यसको रिपोर्ट प्रहरीले गोप्य राखेको छ । चोरको खोजीमा प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्दै आएको छ ।
चोरीमा संलग्न रहेको आशंका गरिएका दुई ब्यक्ति र तिनले प्रयोग गरेको पल्सर मोटरसाइकल खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई प्रदेश प्रहरीको अनुसन्धान समूहले सहयोग गरिरहेको छ ।
प्रदेश प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले पोलिग्राफ परीक्षण आवश्यक्ता अनुसार मात्रै गरिने गरिएको छ ।
उनको अनुसार घटनामा संलग्न भएको हुनसक्ने आशंका गरिएका मानिसलाई यो परीक्षण गर्दा झुटो बोलेको मेसिनले थाहा पाउँछ ।
बोल्ने ब्यक्तिको हाउभाउ र मुटुको धड्कन उपकरणले जाँच गर्ने भएकाले घटना लुकाउने प्रयास गरेको पत्ता लगाउछ । निजी उद्योगमा कामदार दिने तथा निर्माण ब्यवसायको काम गर्ने सो कार्यालयबाट नगदसहितको ब्याग चोरी भएको थियो ।
सो कार्यालयका सञ्चालक विवेक कर्णले प्रहरीले आफूसँग नजिक रहेर काम गरिरहेका ब्यक्तिहरुलाई शंका गरेर सोधपुछ गरिरहेको बताए । रकम चोरी गर्ने ब्यक्तिको पहिचान मात्रै खुले चोरीको रकम नचाहिने बताउने कर्ण चिनिएकै मानिसबाट कार्यालयबाट रकम चोरी भएको दाबी गर्छन् ।
चोरीको घटना अनुसन्धान गर्न प्रहरीले बिभिन्न ठाउँको सीसीटीभी क्यामेराको रेकर्ड हेरेको थियो ।
कम्पनीले कामदारलाई मासिक रुपमा पारिश्रमिक दिने गरेकाले बैंकबाट रकम निकालेदेखि कार्यालयमा ल्याएसम्म चिनजानकै मानिसबाट पिछा गराइएको अनुमान गरिएको छ ।
बैंकबाट रकम निकालेर ल्याएदेखि कार्यालयसम्म मोटरसाइकलमा सवार दुई ब्यक्तिले पिछा गरेको बजारका सीसीटीभी क्यामेराको रेकर्डले देखाएको छ । कम्पनीका म्यानेजर अमरेश कर्णले बैंकबाट रकम निकालेर आएपछि कार्यालय भित्रैबाट उनी भएकै अवस्थामा ब्याग चोरी भएको थियो ।
View : 119
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved