कोशी प्रदेश लगानी सम्मेलन :
विराटनगर । कोशी प्रदेश लगानी सम्मेलनको व्यवस्थापनको विषयमा असन्तुष्टि जनाउँदै आएको नेपाल उद्योग परिसंघ कोशी प्रदेशले पाएसम्मको फोरममा आफ्नो विरोध जनाउने क्रमलाई जारी राखेको छ । परिसंघका पदाधिकारीले शनिबार नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी लगानी सम्मेलनलाई सर्वपक्षीय बनाउनुपर्ने माग गरेका छन् ।
कांग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्न विराटनगर आइपुगेका देउवालाई भेटेर उनीहरूले आफ्नो सिकायत राखेका हुन् । त्यसबाहेक परिसंघ तथा मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरूले संयुक्त रुपमा शनिबार नै पूर्वप्रधानमन्त्री देउवालाई भेटेका छन् ।
उक्त भेटमा नेपालको खस्कदो अर्थतन्त्र, सीमावर्ती बजारको खुल्ला कारोबार र चोरी पैठारीको समस्या, विद्युत आपूर्ति, अत्यधिक बीमा शुल्कसहितका विषयमा अवगत गराई समस्याको निराकरणका लागि तत्कालै सरकारबाट ठोस कदम चालिनुपर्ने माग गरिएको मोरङ उद्योग व्यापार संघले जनाएको छ ।
भेटघाटमा प्रदेश लगानी सम्मेलनमा गर्न खोजिएको पक्षपातको बारेमा पनि कांग्रेस सभापतिलाई जानकारी गराएको एक उद्योगीले बताए ।
पछिल्लो समय कोशी प्रदेश सरकारले लगानी सम्मेलनको व्यवस्थापन एकपक्षीय रुपमा उद्योग संगठन मोरङलाई दिएको भन्दै नेपाल उद्योग परिसंघ सम्वद्ध उद्योगी व्यवसायीहरू प्रदेश सरकारसँग असन्तुष्टि पोख्दै आएका छन् ।
उनीहरू प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुखबोली व्यवस्थापनको जिम्मा उद्योग संगठनमात्रलाई दिएको भन्दै यसबाट आफूहरूको अपमान भएको भनिरहेका छन् ।
कोशी प्रदेश सरकारले आउँदो माघ ११, १२ र १३ गते तीनदिने ‘कोशी प्रदेशी लगानी सम्मेलन, २०८१’ आयोजना गर्दैछ । सोही सम्मेलनसँग मिति मिल्नेगरी उद्योग संगठन मोरङले उद्योग तथा व्यापार मेला पनि गर्दैछ ।
सरकारले एउटा संस्थाको मेलामा लगानी सम्मेलन मिसाएर आफूहरूको सहभागितालाई रोक्न खोजेको परिसंघका अध्यक्ष पवनकुमार सारडा गुनासो गर्छन् । ‘हाम्रो प्रष्ट धारणा छ’ सारडा भन्छन्, ‘हामी त्यस्तो हल्लागुल्ला हुने ठाउँको लगानी सम्मेलनमा उपस्थित हुन सक्दैनौं ।’
सारडाजस्तै धारणा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेश जाजूको पनि छ । उनी कुनै पनि मेला वा जात्रामा लगानी सम्मेलन गर्नु भनेको लगानीकर्ता पाहुनाको बेइज्जत गर्नुसरह भएको बताउँछन् ।
‘तम्बु गाडेर लगानी सम्मेलन ?’ जाजुले भने, ‘यसो गर्दा हामीसँग पूर्वाधार शुन्य भएको गलत सन्देश लगानीकर्तामा जान्छ ।’ उनी लगानी सम्मेलन शान्त र व्यवस्थित ठाउ“मा हुनुपर्ने राय व्यक्त गर्छन् ।
केही उद्योगी लगानी सम्मेलनको व्यवस्थापन कसले गर्ने भनेर गरिएको किचलो उपयुक्त नभएको बताउँछन् । सम्मेलनको व्यवस्थापन गर्ने भनिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना निजी क्षेत्रले व्यवस्थापनको जिम्मा पाउँदा स्वागत गर्नुपर्नेमा विरोध गरिएकोमा आश्चर्य प्रकट गर्छन् ।
‘लगानी सम्मेलनको व्यवस्थापनको जिम्मा उद्योग संगठनले पाउँदैमा आकाश खस्ने, पाताल भासिने कुरा होइन’ सुराना भन्छन्, ‘हामी फर्स्ट क्लास सम्मेलन गरेर देखाइदिन्छौं ।’
लागानी सम्मेलन आयोजनाअघि नै भइरहेको किचलो नजिकबाट हेरिरहका एक उद्योगी राजनीति र विवादबाट सकेसम्म टाढा रहन चाहने व्यवसायीहरूलाई प्रदेश सरकारले अनाहकमा विवादमा पारिदिएको बताउँछन् । ‘सरकार त अभिभावक हुन्छ, विवादमा पारिदिने अनि रमिते हुने ?’ उनी भन्छन्, ‘मुख्यमन्त्रीको यस्तो अल्लारे काम सच्चिनुपर्छ ।’
कोशी प्रदेश सरकारले आउँदो माघ ११, १२ र १३ गते तीनदिने ‘कोशी प्रदेशी लगानी सम्मेलन, २०८१’ आयोजना गर्ने घोषणा गरी त्यसको अवधारण पत्र पनि सार्वजनिक गरेको छ । उक्त अवधारण पत्रमा चालु आर्थिक वर्षको बजेट वक्तव्यमै लगानी सम्मेलन घोषणा गरअनुरुप सम्मेलनको तयारी सुरु गरिएको उल्लेख छ ।
सम्मेलनको बजेट तथा कर्मचारी व्यवस्थापन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने जनाइएको छ ।
सरकारले सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता, नेपाल सरकारका सरोकारवाला निकाय तथा प्रतिनिधि, संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू, नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संगठनहरू, सहकारी क्षेत्र, विकास साझेदार संस्थाका प्रतिनिधिहरू, गैरआवासीय नेपालीहरू, विश्वविद्यालयका पदाधिकारीहरू, विषय विज्ञहरू, वित्तीय, आर्थिक तथा लगानीका क्षेत्रका शोधकर्ताहरू, कोशी प्रदेशका सबै स्थानीय सरकारहरू, सञ्चारकर्मी एवम् अन्य सरोकारवालाहरूको सहभागिता हुने अपेक्षा गरेको छ ।
View : 136
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved