Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

खैरो हेरोइनको कारोबार : खरिदकर्ता बनेर प्रहरीले मारेको छापा

उद्‌घोष संवाददाता
२५ असार २०८२, बुधवार

विराटनगर । भारतबाट नेपालमा ल्याएर बिक्री गरिने गरिएको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) का नेपाल र भारत दुबै देशका कारोबारी पक्राउ गर्न प्रहरीले ग्राहक बनेर कारवाही गर्ने गरेको छ ।

आइतबार मोरङको रंगेलीमा पक्राउ परेका दुबै देशका कारोबारीलाई नियन्त्रणमा लिन यसैगरी ग्राहक बनेर प्रहरी गएको थियो । 

काठमाडाैंमा सूचना पाएर आएको प्रहरीले ठूलो परिमाणको खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गर्न सफल भएको थियो । नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसेमत गरेको थियो ।

रंगेली नगरपालिका-८ बाट ५४ बर्षीय कृत्यानन्द ठाकुर, ३० बर्षीय सुशील बुढाथोकी र भारत अररियाकी ५० बर्षीया हसिना भन्ने बिजली खातुनलाई प्रहरीले पक्राउ गरेको छ । 

ठाकुरको घरबाट ३ सय ६५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको थियो । सो खैरो हेरोइन नेपालको बजार मूल्य अनुसार करिव २५ लाख रूपैयाँ बराबरको भएको बताइएको छ ।

प्रहरीका अनुसार खैरो हेरोइनका कारोबारी काठमाडांैमा पक्राउ परेका थिए । तिनै ब्यक्तिको सूचनाको आधारमा प्रहरी मोरङ आएर ग्राहक बन्दै ठाकुरको घर पुगेको थियो । 

ग्राहक बनेको प्रहरीले १४ हजार रूपैयाँमा दुई ग्राम खैरो हेरोइन खरिद गरेपछि सो घरमा छापा मारेको थियो । कोशी प्रदेशमा प्रहरीले लागुऔषध दुव्र्यसन बिरूद्धको अभियानसमेत सञ्चालन गरिरहेको छ ।

नेपाल प्रहरी केन्द्रीय लागुऔषध अनुसन्धान ब्युरो काठमाडांै, लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले कोठा भाडामा लिएर बस्दै आएका ठाकुरको कोठा खानतलासी गरेर खैरो हेरोइन बरामद गरेको हो । 

ग्राहक बनेर गएको प्रहरीले माग गरेपछि भारत तर्फबाट खातुन खैरो हेरोइन पुर्‍याउन आएकी थिइन् । 

यसअघि नेपालतर्फ खैरो हेरोइनको माग हुँदा खातुनका श्रीमान पुर्‍याउन आउने गरेकोमा यस पटक भने उनी बिरामी भएकाले श्रीमती आएको बताइएको छ । 

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले नगद १ लाख २१ हजार रूपैयाँसमेत बरामद गरेको छ । 

एक वर्षभित्रै मोरङका दुई स्थान र सुनसरीको एक ठाउँबाट गोली प्रहार गरेर मानिस नियन्त्रणमा लिइएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध ब्युरोका सुरक्षाकर्मी काठमाडौबाट जिल्लाहरूमा कारवाहीका लागि निस्कदा नियन्त्रणमा लिइसकेका ब्यक्तिलाई पनि गोली प्रहार गर्ने गरेका छन् ।

View : 406

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved