विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सृजना गर्न र उद्योगी व्यवसायीहरूको व्यावसायिक क्षमता विकासका लागि महासंघले दृढ रहेको बताएका छन् ।
महासंघ कोशी प्रदेश समितिद्वारा सोमबार आयोजित कोशी प्रदेशका पत्रकारहरूलाई कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष राउतले उद्योगी व्यवसायीहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका हुन् ।
राउतले राज्य पुनर्संरचनापछि कृषि क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट कार्यक्रमहरू सञ्चालन हुँदै आए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए ।
जसका कारण मुलकमा दिन प्रतिदिन उत्पादनमा परनिर्भरता बढ्दै गएको भन्दै राज्यको चौथो अंग रहेको पत्रकारिता क्षेत्रले कृषि क्षेत्रमा ओझेलमा परेका मुद्दाहरूलाई बहसमा ल्याउनुपर्ने बताए ।
अभिमुखीकरणका अवसरमा कोशी प्रदेशमा कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरणको वर्तमान अवस्था, कोशी प्रदेश सरकारको कृषि र पशुपालन विकासका कार्यक्रम, मिडिया प्रवर्द्धन अवसरका लागि कृषि मूल्य श्रृङ्खलाका मुख्य–मुख्य क्षेत्र र मुद्दाहरू बारेमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ अधिकृत पशुपति पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) को सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेश मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरका सञ्चारमाध्यममा कार्यरत ४५ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
View : 197
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved