Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

भारतीय लोकसभा निर्वाचन

भाजपा गठबन्धनलाई झिनो बहुमत, सरकार बनाउन भने दुबै गठबन्धनको कसरत

उद्घोष सम्वाददाता
२३ जेठ २०८१, बुधवार

Advertisement

विराटनगर । सात चरणमा भएको भारतीय लोकसभाको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । मंगलबार राति अबेर लोकसभाका ५४३ स्थानको परिणाम सार्वजनिक भएको हो । 

घोषित परिणामले भने भारतीय जनता पार्टीको ‘यस बार ः चार सय पार’को महत्वाकांक्षी नारालाई फेल खुवाएको छ । भाजपाले यो निर्वाचनमा सन् २०१९ मा आफैले पाएको एकल बहुमत पनि गुमाएको छ । यद्यपि भाजपाबाट नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने सम्भावना भने कायमै छ । भाजपासहितको ‘एनडीए’ गठबन्धनले बहुमत ल्याएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपासहितको ‘एनडीए’ गठबन्धन कुल ५४३ सिटमध्ये २९२ सिटमा विजयी भएको छ । भाजपा एक्लैले भने यस पटक २४० सिटमै चित्त बुझाउनुपर्ने भएको छ । भाजपाले सन् २०१९ मा पाएको सिट संख्यामा यस पटक ६३ सिट गुमाएको छ । यो गठबन्धनमा रहेका चन्द्रबाबु नायडुको तेलगु देशम पार्टी १६ र नितिशकुमार नेतृत्वको जनता दल युनाइटेडले १२ सिट जितेका छन् । अब मोदीलाई सरकार गठनका लागि यी दुई दल निकै महत्वपूर्ण हुने छन् ।

कंग्रेस र त्यसमा आबद्ध विपक्षीहरूको ‘इन्डिया’ गठबन्धनले २३४ सिट जितेको छ । यस पटक विपक्षी गठबन्धनले देखाएको बलियो उपस्थितिबाट धेरै विश्लेषकहरू अचम्ममा परेका छन् । यो निर्वाचनमा मोदीले भाजपाका लागि ३७० सिट र गठबन्धनका लागि ४०० सिटको लक्ष्य राखेका थिए ।

लोकसभा चुनावमा कांग्रेसले यस पटक उल्लेखीय प्रगति गरेको छ । कंग्रेसले सन् २०१४ मा ४४ सिट र २०१९ मा ५२ सिटमात्र जितेको थियो । सन् २०२४ निर्वाचनमा कंग्रेसले ९९ सिट जितेको छ ।
त्यस्तै भाजपाले सन् २०१४ मा २८२ सिट र २०१९ मा ३०३ सिट जितेको थियो । सन् २०२४ को निर्वाचनमा भाजपा २४० मा खुम्चिएको छ । उसलाई बहुमत पुर्‍याउन अब ३२ सिट अपुग भएको छ । यसअघि लगातार दुई पटक बहुमत ल्याएको भाजपाले यस पटक भने एकल बहुमत गुमाएको हो ।

रायबरेलीबाट भारी मतान्तरले राहुल विजयी

कंग्रेसको गढ मानिने रायबरेली निर्वाचन क्षेत्रबाट राहुल गान्धी विपक्षी भाजपाका उम्मेदवार दिनेश प्रतापभन्दा ३ लाख ९० हजार मत अन्तरले विजयी भएका छन् । गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलको वायानड गरी दुवै क्षेत्रबाट लोक सभा सदस्य जितेका छन् । 

वाराणसीबाट फेरि जिते मोदीले

उत्तर प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक विजयी भएका छन् । सन् २०१९ मा झण्डै ६ लाख मतान्तरले विजयी भएका मोदी यस पटक भने विपक्षी कंग्रेसका उम्मेदवार अजय रायभन्दा एक लाख ५२ हजार मतान्तरले मात्र विजयी भएका हुन् ।

सरकार कसको बन्ने अन्यौल नै

यस पटकको निर्वाचन परिणाममा भाजपा गठबन्धन बहुमतका लागि चाहिने २७२ सिटभन्दा थोरै सिटले मात्रै अगाडि छ । यदि चुनावी नतिजापछि गठबन्धन फेरिने अवस्था आए कंग्रेसको पनि भाग्य खुल्ने अवस्था देखिन्छ । यसका लागि कंग्रेस आईका नेता राहुल गान्धीले सरकार बनाउन पहल गर्ने वा नगर्ने विषयमा बुधबारमात्र निर्णय गर्ने बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा विपक्षमा रही पार्टीलाई बलियो बनाउने कि सरकारमा जाने भन्ने प्रश्नमा राहुलले उक्त निर्णय भोलि हुने बताएका हुन् । उनका अनुसार सरकार बनाउने वा नबनाउने विषयमा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनसँग छलफल गरेर निर्णय लिइने छ ।

को जिते को हारे ?

यस पटको निर्वाचनमा केही चर्चित अनुहारहरू पराजित भएका छन् । केही उम्मेदवारहरू भने लगातार तेस्रो र चोथौ पटक पनि जित निकालिरहेका छन् । यसैबीच अघिल्लो पटक मेरठबाट कंग्रेसकी राहुल गान्धीलाई हराएकी भाजपाकी स्मृति इरानी यस पटक कंग्रेसकै उम्मेदवार किशोरी लालसँग पराजित भएकी छन् । 
दक्षिण भारतको केरल राज्यको तिरुवनंतपुरमबाट कंग्रेसका शशी थरूर चौथो पटक विजयी भएका छन् । उनी भाजपाका उम्मेदवार राजीव चन्द्रशेखरलाई १६ हजार ७७ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । प्रखर वक्ताको छवि बनाएका कन्हैया कुमार यस पटक फेरि पराजित भएका छन् । यस पटक कंग्रेसबाट चुनाव लडेका कन्हैया भाजपा उम्मेदवार तथा भोजपुरी कलाकार मनोज तिवारीसँग पराजित भएका हुन् । उत्तर पूर्वी दिल्लीमा तिवारी यसअघि लगातार दुई पटक विजयी भइसकेका छन् ।

View : 171

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved