विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि केहीबेर अघि मतदान सुरु भएको छ । विराटनगर–१२ पाञ्चालीस्थित पार्टी कार्यालयमा मतदान सुरु भएको हो ।
निर्वाचन कमिटीले प्रतिनिधि विवरण प्रकाशनदेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रियामा ढिलाई गरेका कारण बिहीबार विहानैदेखि हुने भनिएको निर्वाचन प्रभावित भएको प्रतिनिधिहरूले बताए ।
मतदानका लागि विहानैदेखि पार्टी कार्यालयमा प्रतिनिधिहरू भेला भएका थिए । महानगर कमिटीको दोस्रो अधिवेशनले १०१ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ । मंगलबार अधिवेशनको उद्घाटन गरिएको थियो ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) ले प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १६ पदमा मात्रै निर्वाचन हुन लागेको हो । अधिवेशनबाट निर्वाचित हुने ९७ जना मध्ये सदस्य पदमा ८१ जना भने सर्वसम्मत भइसकेको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका दाबेदार कोइरालाले संस्थापन पक्षको प्रतिनिधित्व गरेको बताएका छन् । गिरीले भने १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएको जिल्ला कमिटीले समर्थन गरेको संस्थापन पक्षको उम्मेदवारका रुपमा आफुलाई अघि सारेका छन् ।
कोइराला पक्षबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र कला डाँगी उम्मेदवार छन् ।
गिरी प्यानलबाट उपाध्यक्षमा सुवासकुमार न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाँई, उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेल उम्मेदवार छन् ।
View : 195
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved