विराटनगर । भारतीय माटोसहित ल्याइएका विभिन्न प्रकारका फुलका विरूवा सशस्त्र प्रहरीले खाल्डोमा पुरेर नष्ट गरेको छ ।
विराटनगर–१४ स्थित डायमण्ड नर्सरीले यूपी ६३ एटी ४६७६ नम्बरको भारतीय ट्रकबाट नेपाल भित्र्याएको पाँच हजार १०० वटा विरूवा नष्ट गरिएको जनाइएको छ ।
ट्रकबाट एरिका प्लाम ७०० थान, रेड क्याकिरा ५००, टिकोम १०००, एडेम्म ४००, क्रोटोन १००, एम्सेवर २००, गोल्डेन पाइन २००, फिकस लाराटा ५००, फोक्साइल्ड प्लाम ४०० र फिस्टेज प्लामका ४०० थान विरूवा बरामद भएको हो ।
ती विरूवासहितको ट्रक विराटनगरस्थित क्वारेन्टाइन कार्यालयमा जाँच परीक्षणका लागि लगेपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको जनाइएको छ ।
भारतबाट विरूवा ल्याउँदा माटोसहित ल्याउन नपाउने व्यवस्था छ । माटोसहित बिरूवा ल्याउँदा माटोमार्फत किटजन्य जीवाणु र रोगसमेत सँगै आउने सक्ने भएकोले नष्ट गर्नुपर्ने जनाइएको छ ।
त्यसरी नर्सरीले गमलामा माटोसहितको विरूवा ल्याएर सिधै बिक्री गर्नसक्ने भएकोले तत्कालै नष्ट गर्नु परेको सशस्त्र प्रहरीको भनाई छ ।
विरूवा ल्याउँदा नरिवलको कोकोपिट (नरिबलको बोक्रा तथा काठको धुलो) मा राखेर ल्याउनु पर्नेमा माटोसहितको गमलामा राखेर ल्याएपछि अवैध ठहर भएको सशस्त्र प्रहरीले जनाएको छ । बिरूवाको मुल्य एकलाख ४७ हजार रूपैयाँ रहेको पनि जनाइएको छ ।
View : 213
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved