Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

सरकारले गलत गरे गलत भन्नुपर्छ : डा. शेखर

उद्‌घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गलत गर्न खोजे त्यसलाई कांग्रेसले पनि गलत भन्नुपर्ने बताएका छन् । 

उनले बीपीको सिद्धान्तमा हिंड्ने कांग्रेसका नेता कार्यकर्ताले जोसुकैको सरकार भए पनि गलतलाई गलत भन्न सक्नुपर्ने बताएका हुन् ।

शनिबार उदयपुर सदरमुकाम गाईघाटस्थित बीपी चोकमा निर्माण गरिएको बीपी कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुने बताए । उनले कांग्रेसको सहयोगमा एमाले नेतृत्वको सरकार बनिरहेको हुँदा सरकारले राम्रो काम गर्नुपर्ने र राम्रो गरी सरकार चलाउनुको विकल्प नभएको बताए ।

नेता कोइरालाले मन्त्री र नेताहरूलाई जनमुखी काम गर्न आग्रह गरे । सहकार्यको सरकारका कारण गलतलाई गलत भन्न कठिन हुन सक्ने उनले आशंका व्यक्त गरे । 

कोइरालाले सरकार बनाउने बेलामा भएको ७ बुँदे सम्झौतालाई अघि बढाउनुपर्ने बताए । उनले संविधान सुधारका लागि कुनै पनि कुराहरू अघि बढ्न नसकेको बताए । उनले आफू सधैँ सरकारको निगरानी गरिरहने र गलत भए त्यस्तालाई नछाड्ने चेतावनी दिए । 

सरकारले शासन गर्ने भन्दा पनि जनताको पक्षमा काम गर्नुपर्ने उनको भनाइ थियो । 

उक्त कार्यक्रमका गुरुराज घिमिरे, राजीव कोइराला, त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत लगायत कोइराला समूहका नेताहरूको उपस्थिति रहेको थियो । 

त्रियुगा नगरपालिकाकै कोषबाट तीन लाख रुपैयाँ खर्चिएर बीपीको शालिक निर्माण गरिएको हो ।

View : 103

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved