विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीले बुधबार विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालय जाने बाटोको दुवैतिर वृक्षारोपण गरेको छ ।
७३ औं मदन जयन्तीको अवसर पारेर महासंघले वृक्षारोपण कार्यक्रमलाई वृहत रुपमा अन्य वडाहरूमा पनि गर्ने गरी सुरु गरेको जनाइएको छ ।
वृक्षारोपण कार्यक्रमको पहिलो दिन वडा नम्बर १ मा अशोकका बिरुवा रोपिएको महासंघ महानगर कमिटीका अध्यक्ष जतिन ताम्राकारले बताए ।
खेलकुद महासंघले नेपाल फूलबारी र विराटनगर महानगरपालिकासँगको सहकार्यमा वृहत वृक्षारोपण कार्यक्रम सुरु गरेको जनाइएको छ ।
वृक्षारोपण कार्यक्रम लगत्तै महासंघ महानगर कमिटीले वडा स्तरीय फुटबल, खुला टेबल टेनिस, टी–१० क्रिकेट लगायतका प्रतियोगिताहरू समेत आयोजना गर्ने तयारी गरेको अध्यक्ष ताम्राकारले बताए ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले गरेका थिए । कार्यक्रममा महासंघका स्थायी कमिटी सदस्य रोहित कोइराला, महानगर इन्चार्ज मनोज बिक्रम साह लगायत महासंघका सदस्यहरूको उपस्थिति रहेको महानगर कमिटीकी कोषाध्यक्ष चाँदनी झाले जानकारी दिइन् । उनले यसका साथै वडा नम्बर २, ३, ४, ५ र १९ मा समेत वृक्षारोपण गर्ने कार्यक्रम रहेको बताइन् ।
View : 186
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved