Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

विराटनगरमा सक्रिय वकालत गरी प्रधानन्यायाधीश बन्न सफल सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

राष्ट्रपति कार्यालयमा शुक्रबार राती ९ बजे कार्कीलाई प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गराउने कार्यक्रम तय गरेको जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान प्रतिनिधिसभा विघटन गर्न सहमत भएपछि कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको हो ।
उद्‌घोष संवाददाता
२७ भदौ २०८२, शुक्रवार

विराटनगर । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएकी छन् । 

राष्ट्रपति कार्यालयमा शुक्रबार राती ९ बजे कार्कीलाई प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गराउने कार्यक्रम तय गरेको जनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान प्रतिनिधिसभा विघटन गर्न सहमत भएपछि कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको हो ।

जेनजी समुहको उग्र प्रदर्शनका क्रममा भएको आगजनीले देशका प्रमुख प्रशासनिक निकाय ध्वस्त बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मुलुकको राष्ट्रिय सुरक्षाको जिम्मा सेनाको हातमा पुर्‍याएका थिए । 

सेनाकै नेतृत्वमा आन्दोलनकारीको माग सम्बोधन हुने गरी राष्ट्रिय सरकारको गठनको प्रक्रिया अघि बढाउन बिहीबारदेखि भएको आज निष्कर्षमा पुगेको हो ।

विराटनगरमा जन्मिएकी ७३ वर्षीया कार्की भारतको बनारस हिन्दू विश्वविद्यालयमा पढेकी थिइन् । महिलाले कानुन पढ्ने र वकालत गर्ने विषयलाई असामान्य रुपमा लिइने समयमा उनी त्रिभुवन विश्वविद्यालयमा अध्ययनपश्चात वकालत पेसामा प्रवेश गरेकी थिइन् ।

कार्कीले विराटनगर र धरानमा सक्रिय वकालत गरेकी थिइन् ।

तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले 'सुशीला कार्कीमा क्षमता देखेर नै सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको' भन्दै उनलाई न्यायाधीशका रूपमा सिधै सर्वोच्च अदालत प्रवेश गराएका थिए ।

कार्कीले न्यायाधीश हुँदा बहालवाला सञ्चारमन्त्री रहेका कांग्रेस नेता जेपी गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकी थिइन् ।

View : 597

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved