विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ ।
खोलाको बहाव मोडिएर बस्ती कटान गर्दा ५ वटा घर पूर्ण रुपमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । अन्य ६ वटा घरमा समेत क्षति पुगेको छ । आइतबार राती आएको बाढीले मानवीय क्षति भने नभएको जनाइएको छ ।
बाढीले विद्युतका पोल बगाउँदा विद्युत प्रसारण बन्द भएको छ । गाउँपालिकाले उद्धार र अत्यावश्यक मानवीय सहायतामा जुटेको जनाएको छ ।
अहिले पनि अविरल वर्षा भइरहेकोले थप क्षति हुनसक्ने सम्भावना रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उनले क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।
यता, सोलुखुम्बुकै महाकुलुङ गाउँपालिका–३ र ४ को सीमाना भएर बग्ने हुँगा खोलामा निर्माणाधीन २२ मेगावाट क्षमताको मिड हुँगा खोला ‘ए’ मा क्षति पुर्याएको छ ।
बाढीले हाइड्रो निर्माणका लागि जडान गरिएको बेलिब्रिज र निर्माण सामाग्री बगाएको छ । सोमबार बिहान अचानक बाढी आएर क्षति गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
उक्त हाइड्रो एपेक्स मकालु हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको छ । बाढीले हुँगा खोला वारिपारि गर्ने बेलिब्रिज बगाएको हो । बाढीले हाइड्रोको सुरुङ निर्माणमा प्रयोग हुने बुमर मेसिन, ५०० मिटर अर्थिङ प्लेट, रेडिउसर पाइप र एमएस पाइप बगाएको जनाइएको छ ।
View : 359
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved