Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या

उद्घोष सम्वाददाता
६ कार्तिक २०८१, मङ्गलवार

चितवन, ६ कात्तिक । जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ ।

यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो ।  

एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरीयता पाँच सय ४४ जना सङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण देखिएको हो ।

उनले भने, “अहिलेको समस्या भनेको एचआइभी सङ्क्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ ।”

असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमितहरुमा भिरिङ्गी रोगको सङ्क्रमणसमेत देखिएको हो ।

सङ्क्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन् ।
 
सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १५ जनामा एचआइभी एड्ससँगै क्षयरोगसमेत  देखिएको थियो ।

उनीहरुलाई  अहिले नियमित औषधि सेवन गराइएको उनले जानकारी दिए ।

क्षयरोग देखिनुमा मुख्य समस्या सङ्क्रमितहरुले मादक पदार्थ र धुम्रपानको सेवन अत्यधिक गर्नु रहेको छ ।  

क्षयरोग पुष्टि भएका बाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उनले बताए ।

फाउन्डेसनको सहयोगमा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहेका सापकोटाका अनुसार जिल्लामा हाल एक हजार दुई सय १३ सङ्क्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन् ।

उनीहरुमध्ये पाँच सय ९२ पुरुष, पाँच सय ६८ महिला, ३३ बालबालिका र २० जना तेस्रोलिङ्गी रहेका छन् ।

सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआइभी परीक्षणमा ७५ जना नयाँ सङ्क्रमित भेटिएको सापकोटाले बताए ।

उनले भने, “सन् २०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।”

यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी एक सय ५१ नयाँ सङ्क्रमितले औषधि सुरु गरेका छन् ।

यहाँ नियमित औषधि सेवन गर्नेमध्ये ३० जना स्थानान्तरण भएर गएको उनले बताए ।

बाह्र जना सङ्क्रमितले नियमित औषधि सेवन गर्न छाडेको सापकोटाले जानकारी दिए । रासस

View : 62

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved