Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

दुर्व्यसनविरूद्ध आमाहरू कार्यक्रम शुभारम्भ

उद्घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

विराटनगर । लागुऔषधलगायत कुलत रोकथाम गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘दुर्व्यसनविरूद्ध आमाहरू’ कार्यक्रम शुभारम्भ गरेको छ ।

मोरङको बेलबारी नगरपालिकाको सभाहलमा बुधबार आयोजित एक कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले दुर्व्यसनविरूद्ध आमाहरू कार्यक्रमको औपचारिकरूपमा शुभारम्भ गरेका हुन्  ।

शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै  प्रहरी नायव महानिरीक्षक खापुङले लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरी  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुर्व्यसनविरूद्ध आमाहरू कार्यक्रमको शुभारम्भ गरेको बताए ।

वालबालिकाहरूसँग आमाहरूले वढी समय दिनुका साथै उनीहरूको बानी व्यहोराको समेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोराछोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा वानी व्यहोरामा आएको परिवर्तन आमाहरूले सहजै महसुस गर्ने भएकोले आमाहरूलाई लक्षित गरी सो कार्यक्रमको थालनी गरिएको उनको भनाइ छ ।

सो कार्यक्रमले लागूऔषध दुर्व्यसनीबाट हुने अपराध न्यूनीकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने  खापुङले बताए ।

सो अभियान कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा  लागू गरिने  प्रहरीले जनाएको छ ।

स्थानीय स्कुल कलेजका विधार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका वासिन्दा, लागू औषध सेवन कर्ता, अन्तराष्ट्रिय सिमानासाग जोडिएका बस्ती, लागुऔषध प्रभावित स्थानिय तह हरूमा नेपाल प्रहरीले स्थानिय निकायका बिभिन्न संघ संस्थाहरूसंग समन्वय र सहकार्य गरी निरन्तररूपमा संचालन गर्ने बताइएको छ ।

कार्यक्रमका अध्यक्ष बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोईरालाले नेपाल प्रहरीले युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउन  शुभारम्भ गरेको दुर्व्यसन विरूद्ध आमाहरू कार्यक्रममा स्थानिय तहको सदैव साथ र सहयोग रहने बताइन् ।

View : 76

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved