इटहरी । नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन सुनसरीको इटहरीमा सुरु भएको छ । तीन दिनसम्म चल्ने माहाधिवेशनको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
महाधिवेशनमा देशभरका नेपाल जेसीजका १७८ शाखाबाट २ हजार ५ सय प्रतिनिधि सहभागी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले जानकारी दिए । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्व चयनका लागि सोमबार मतदान हुने भएको छ ।
१ हजार २ सय ४६ जना मतदाताले वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्ने छन् । अध्यक्षको लागि रश्मि शिल्पकार, विजय गुरुङ, रजनी थापा, नरेशचन्द्र ओझा, जीवन कार्की र सुनिल तिम्सिना प्रतिस्पर्धामा छन् ।
महाधिवेशनको दौरानमा शान्ति पदयात्रा, धार्मिक तथा पर्यटकीय क्षेत्रको दृश्यावलोकन, प्रकरण गोष्ठी, वक्तृत्वकला पूर्वशाखा अध्यक्षको लागि ब्याडमिन्टन प्रतियोगिता र वार्षिक साधारणसभा हुनेछ ।
महाधिवेशनमा पूर्वको बाहुनडाँगी जेसीजदेखि पश्चिमको महेन्द्रनगर जेसीज हुँदै अछाम जेसीजसम्मको शाखाबाट सहभागी प्रतिनिधिहरू राख्न भेडेटारदेखि विराटनगरसम्मका २ सय वटा होटलहरूको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई मध्यनजर राख्दै स्थानीय पर्यटन तथा व्यापार प्रवद्र्धनका लागि महाधिवेशन स्थलमा ५० वटा भन्दा बढी स्टल राखिएको छ ।
View : 76
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved