विराटनगर । नेकपा एमाले कोशी प्रदेश प्रचार विभागले अग्रजहरूको अभिलेखीकरण गर्ने भएको छ । एमालेमा लामो समय जीवन व्यतित गरेका तर कुनै पनि अवसर नपाएकाहरु नेता कार्यकर्ताहरूको विवरण समेटेर पुस्तक प्रकाशन गर्ने तयारी गरेको जनाइएको छ ।
एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको बिहीबार विराटनगरमा बसेको बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका अग्रजहरुको नामावली तयार गर्ने र पुस्तक प्रकाशन गर्ने निर्णय गरेको प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण तिवारीले बताए । उनका अनुसार पुस्तकसँगै भिडियो सामग्री पनि तयार गरिने जानकारी दिए ।
‘अग्रज व्यक्तिहरू, लामो समयदेखि पार्टीमा आवद्ध भएको तर हालसम्म कुनै पनि अवसर नपाएकाहरुका विषयमा पुस्तक तयार गरिने छ’ उनले भने, ‘एउटा जिल्लाबाट कम्तिमा ३–३ जनालाई समावेश गरिने छ, व्यक्ति छनोटका लागि पार्टी जिल्ला कमिटीसँग छलफल गरिने छ ।’
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईको उपस्थितिमा भएको बैठकले प्रदेश प्रचार तथा प्रकाशन विभागको सक्रियतामा पार्टीको प्रदेशस्तरीय प्रकाशनका रुपमा ‘रातो झण्डा’ प्रकाशन गर्ने जनाइएको छ ।
प्रचार विभागको बैठकले कोशी प्रदेशका सञ्चार संस्थाहरूको अवस्थाबारे समेत अध्ययन गर्ने निर्णय गरेको छ ।
बैठकमा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लीलाराज भट्टराईलगायत प्रेस चौतारीका प्रदेशस्तरीय नेताहरूको सहभागीता रहेको थियो ।
साथै बैठकमा प्रचार विभागको वार्षिक कार्ययोजना निर्माण गर्ने र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।
View : 381
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved