Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले उपाध्यक्ष बने गुरु बराल

पार्टीभित्र सफल, संसदीय मोर्चामा विफल

२०५६ को निर्वाचनमा पराजित भए पनि बरालले संसदीय र संविधानसभा चुनावदेखि राष्ट्रियसभा निर्वाचनसम्म टिकट पाइरहे, चुनाव भने हारिरहे ।
उद्घोष सम्वाददाता
१८ साउन २०८१, शुक्रवार

विराटनगर । पार्टीभित्रको मोर्चामा सधैंजसो सफलता हात पार्दै आएका नेकपा एमालेका नेता गुरु बराललाई त्यही क्रममा अर्को सफलता हात परेको छ । विराटनगरका बराल यस पटक पार्टीको केन्द्रीय उपाध्यक्षमा बढुवा भएका छन् । पार्टीभित्रको मोर्चामा सफलतै सफलताले घेरिएका बरालको संसदीय मोर्चातर्फको ‘पर्फर्मेन्स’ भने कहिल्यै फलदायी साबित भएन ।

जनताबाट चुनिन पटक–पटक विफल भएकै कारण लामो समयदेखि पार्टीको सत्ताशक्ति नजिक भएर पनि ‘शक्तिहीन’ झैं बनिसकेका पात्र थिए, बराल । उनी अध्यक्ष केपी शर्मा ओलीका पुराना समर्थक हुन्। उनी ओलीका विश्वास पात्र पनि हुन् । कुनै बेला तत्कालीन कोशी अञ्चलमा एमाले भित्रका सबैझन्दा शक्तिशाली मानिने नेता बराल ५० को दशकको मध्यदेखि विस्तारै शक्ति खोसिँदै गएका थिए । 

२०५६ को आम निर्वाचनमा पराजित भए पनि उनले संसदीय र संविधानसभा चुनावदेखि राष्ट्रियसभा निर्वाचनसम्म टिकट पाइरहे, चुनाव भने हारिरहे । यसरी निरन्तर संसदीय मोर्चामा विफलता सहेर शक्तिहीन बनेका नेता बराल अब भने पार्टी सत्ताको उपल्लो तहमा उक्लिएका छन् । बिहीबारको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्षमा पदमा मनोनयन गरेसँगै एमाले नेता बराल पार्टी सत्तामा शीर्ष पदसहितको जिम्मेवारीमा पुर्‍याइएका छन् । 

गत वर्ष भदौ २६ मा उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त रहेको पदमा बराल पदस्थापित भएका छन् । यस पटक पार्टीको शीर्ष तहमा उक्लिन भने अध्यक्ष ओलीकै साथले काम गरेको एमाले नेताहरू बताउँछन् । 

‘उहाँ पार्टीमा ज्यादै लामो समयदेखि योगदान गर्नुभएको नेता हुनुहुन्छ,’ विराटनगरकै एक एमाले नेताले भने ‘उहाँप्रति अध्यक्ष ओली सधैं सकारात्मक रहनुभयो । यस पटक ओलीले उपाध्यक्ष नै बनाउनुभयो । ओलीसँग निकट रहेर पनि लामो समयदेखि शक्तिहीन जस्तो देखिनुभएको उहाँ अचानक शक्तिमा पुग्नुभयो । यो ठूलो उपलब्धि हो ।’ 

ओली पार्टीमा शक्तिशाली अध्यक्ष बनेयताको समयमा बरालबारे पछिल्लो समय धेरैथरी चर्चा चले । जस्तो कि, २०७९ मंसिर ४ को निर्वाचनताका उनी प्रदेशमा चुनाव उठ्ने र भावी मुख्यमन्त्रीका रुपमा ‘प्रोजेक्ट’ गरिने चर्चा चल्यो । तर, उनले प्रदेशमा टिकट पाएनन् । टिकट नपाउनु र नदिनुमा अध्यक्ष ओलीकै गृहजिल्लाका हिक्मतकुमार कार्की र दीपक कार्की दुई दाजुभाइको घुर्क्याइले काम गरेको एमाले नेताहरू बताउँछन् । 

त्यसबेला कार्कीबन्धुहरूले बराललाई अनेक तरहले तर्साएको बताइन्छ । गत वर्ष फागुनमा सम्पन्न राष्ट्रपति निर्वाचनअघि पनि उनको नाममा फेरि चर्चा सुरु भयो । अध्यक्षका निकट मानिने बराललाई ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउँदैछन् भन्ने हल्लाले विराटनगरको एमाले वृत्त गर्माएको थियो । तर, सुवास नेम्वाङ उम्मेदवार बनेर रामचन्द्र पौडेलसँग पराजित बने । अहिले आएर नेम्वाङकै अनुपस्थितिले रिक्त पदमा बरालले अवसर पाएका छन् ।

‘पार्टीको यो निर्णयलाई ‘राइट म्यान इन राइट प्लेस’ अर्थात् सही ठाउँमा सही मान्छे भन्न सकिन्छ’, अहिले पार्टीमा कारवाहीको डण्डा झेलिरहेका विराटनगर महानगरका अध्यक्ष सागर थापाले उद्घोषसँग भने ‘पार्टीका लागि अथक मिहेनत गरेर लामो योगदान गर्नुभएको उहाँ उपाध्यक्ष बन्दा हामी कार्यकर्ता गौरवबोध गरिरहेका छौं ।’ मोरङको सुन्दरदुलारी मूल घर भएका र पछिल्लो समय विराटनगरका स्थायी बासिन्दा बराल एमालेका ज्यादै पुराना मध्येका एक नेता हुन् । चिन्नेजान्नेहरूले उनलाई पार्टीभित्रका सादगी नेता भनेर बुझ्छन् । तर धेरै नजिकबाट चिन्ने चाहिँ बराल सुविचारित सादगी नेता भएको बताउँछन् । भरपर्दो स्रोतबिना नै विभिन्न कम्पनीमा लगानी गर्नु र अध्यक्ष केपी ओलीको निवास बालकोट आसपासमै घर किन्न सक्नुलाई बराल कम्बल ओढेर घ्यु खाने व्यक्ति हुन् भनेर आलोचना गर्नेहरू पनि एमालेमा प्रशस्त छन् । 

पार्टी भूमिगत अवस्थामा छँदै २०४४ सालमा नेकपा माले मोरङको सचिव भएका उनी त्यसपछि लगातारजसो पार्टीको कुनै न कुनै जिम्मेवारीमा छन् । २०४६ सालको जनआन्दोलनपछि बराल पुनः मोरङको सचिव बने । २०५० सम्म एमाले मोरङको सचिव रहेका उनी २०४९ मा सम्पन्न एमालेको पाँचौं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य बनेका थिए । 

यो महाधिवेशनमा बराल जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन हुँदा सीपी मैनालीको नौलो जनवाद पक्षधर भएर चुनिएका थिए । पछि महाधिवेशन सम्पन्न भइसक्दा बराल पार्टी महासचिव मदन भण्डारीको बहुदलीय जनवादको प्रखर पक्षधर भएर केन्द्रीय सदस्य भए । 

२०५४ माघ १२ देखि १८ सम्म नेपालगञ्जमा भएको छैटौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य दोहोरिएका थिए । जनकपुरमा २०५९ माघ १८–२२ गतेसम्म सम्पन्न सातौं महाधिवेशनमा भने बराल सुनसरीका एमाले नेता भीम आचार्यसँग पराजित हुन पुगे । तत्कालीन महासचिव माधव नेपालको जगजगी चलेका बेला ओली पक्षका बराल केन्द्रीय सदस्य बन्न सकेनन् । महाधिवेशनपछि ओलीले महासचिव नेपालसँग ‘कलेक्टिभ बार्गेनिङ’ गरे । 

परिणामस्वरुप केन्द्रीय कमिटीमा ओली पक्षका तर्फबाट बराल पनि पछि मनोनयनमा परे । भीम आचार्यसँग सातौं महाधिवेशनमा हारेका बरालले आठौं महाधिवेशनमा त्यसको बदला लिए । २०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा सम्पन्न महाधिवेशनमा बरालले जिते, आचार्य पराजित बने । २०७८ मंसिर १० देखि १४ सम्म चितवनको सौराहामा सम्पन्न दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै स्थायी कमिटी सदस्यमा चुनिए । 

यसरी उनको ‘ट्रयाक रेकर्ड’ ले नै देखाउँछ, बराल पार्टीभित्रको मोर्चामा प्रायः सधैँ शक्तिमै रहे । संगठनात्मक जिम्मेवारीमा कुनै बेला जुन पदमा पराजित बने, त्यही पदमा मनोनित भएको इतिहाससमेत उनको नाममा देखिन्छ । 

यसले पनि आन्तरिक मोर्चामा उनी सधैं सफल बनेको देखाउँछ । आन्तरिक मोर्चाभित्र उनको सफलताको उत्कर्ष यस पटक प्राप्त उपाध्यक्ष पद हो । मनमोहन अधिकारी र भरतमोहन अधिकारीपछि पार्टी शीर्ष तहमा पुगेका मोरङका एक्ला नेता बनेका छन् बराल । 

केपी ओली सधैं दाहिना हुँदा पार्टीभित्र सफलता पाउन सजिलो बाटो हिंडेका बरालका लागि जनताका माझ दिइने चुनावी परीक्षा भने सधैंजसो असहज नै रह्यो । पछिल्ला २८ वर्षमा बरालले ५ पटक चुनावको टिकट पाए । तीमध्ये एउटा चुनाव जितेका उनी अरु चार पटक भने पराजित भए । २०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन मोरङ क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचनमा टिकट पाएका उनले उक्त निर्वाचनमा जीत हात पारे । 

नेपाली कांग्रेसका हरिनारायण चौधरीलाई पराजित गरेर चुनावी सफलता चाखेका बरालका लागि हालसम्म त्यही सफलता नै अन्तिम बनेको छ । त्यसपछिका अधिकांश चुनाव लडेका उनका लागि पराजय प्रारब्धझैं बनेको छ । २०५६ सालमा मोरङ ६ बाट कांग्रेसका हरिनारायण चौधरीसँग पराजित बनेका उनले संविधानसभाका दुवै चुनाव हारेका थिए । 

२०६४ मा मोरङ ८ बाट माओवादीका गोपी अछामीसँग पराजित बनेका उनी २०७० मा मोरङ ३ बाट कांग्रेसका दीलिप गच्छदारसँग झिनो मतान्तरले पराजित हुन पुगे । ‘बरालले जति पटक टिकट पाए एमालेको मलिलो मानिएको क्षेत्रबाटै पाए, तर पनि पराजित भइरहे’ एमालेका एक कार्यकर्ताले भने । २०७४ मा वाम गठबन्धन हुँदा उनलाई ओलीले पक्का जितिने राष्ट्रियसभा लैजाने आश्वासन दिएर टिकट दिएनन् । 

आफ्नो पूर्वप्रतिबद्धताअनुसार २०७८ मा ओलीले बराललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाए । कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग बराबरी मत (४ हजार ४८८) पाएपछि गोलाप्रथामा उनी पराजित भए । २०७९ को निर्वाचनमा कोशीका भावी मुख्यमन्त्रीका रुपमा चर्चा चले पनि उनले टिकट पाएनन् । चुनाव नलडेका कारण मुख्यमन्त्रीको हल्ला हल्लामै सीमित भयो । 

‘चुनावी मोर्चामा विफल र आन्तरिक मोर्चामा सधैँ सफल हुनु उहाँको विशेषता हो’, उनलाई नजिकैबाट चिन्ने एमालेका एक कार्यकर्ता भन्छन् ‘यस पटक पनि त्यो क्रम दोहोरियो ।’ कृषि र प्राविधिक विषयमा विशेष रुचि भएका नेता बराल विराटनगरमा एक रोचक पात्रका रुपमा पनि चर्चित छन् । 

हरेक विषयलाई मार्क्सवादी दृष्टिबाट व्याख्या गर्ने उनलाई परम्परागत वामपन्थी मान्नेहरू विराटनगरमा धेरै छन् । उनको यस्तो व्याख्याको शैलीबारे अनेक किस्सा चर्चित छन् । त्यसैमध्येको एउटा किस्सा बेलको रुखबाट उनी लडेको प्रसंगबारे पनि छ । 

घटनाअनुसार केही वर्षअघि उनी महेन्द्र मोरङ क्याम्पस नजिकै रहेको एउटा बेलको रुखछेउमा पुगे । लटरम्म झुन्डिएका बेलका दाना देखेर उनले रुखधनीलाई सोधेछन् ‘यो बेल तपाईहरू खानुहुन्न ?’ जवाफमा रुखधनीले सोधेछन् ‘बेल पनि खान मिल्छ र ?’ 

रुखधनीको जवाफ सुनेर अचम्मित बनेका बरालले बेल टिप्ने अनुमति मागेछन् । समाजका स्थापित व्यक्तिले बेल टिप्ने अनुमति माग्दा रुखधनीले पनि सहजै स्वीकृति दिएछन् । कृषिभित्र पनि जडिबुटीप्रति अझै चासो भएका बराल जुत्ता लगाएरै रुखमा चढेछन् । रुखमा चढेर बेल टिप्न थालेपछि उनलाई तलबाट कसैले सोधेछ ‘बेल खानु फाइदाजनक हो कि होइन ?’

प्रत्येक विषयमा बुँदागत रुपले व्याख्यान दिने बरालले एक हातले हाँगा समाएर बेलको फाइदाबारे पनि बताउन थाले । आफ्नै शैलीमा फाइदा नम्बर १, २ भन्दै उनले ५ नम्बरसम्म पुर्याए । बेलको छैटौं फाइदा भन्ने बेलामा उनले हाँगा समातेको हात खोलेछन् । दुवै हात खोलेका कारण लडेर उनी घाइते बनेको यो किस्सा एमाले वृत्तमा अहिले पनि चर्चामा छ ।

यसरी हरेक विषयमा लामो र परम्परागत रुपमा व्याख्या गर्ने बरालले पार्टी उपाध्यक्षका रुपमा आफ्नो भूमिकालाई कसरी न्याय गर्छन्, उस्तै लामो भाषण दिएर सबैलाई दिक्क पार्छन् कि समयानुकूल परिमार्जित बनेर पार्टी भूमिकामा सशक्त हुन्छन् ? यसका लागि उनको सिंगो कार्यकाल पर्खनुपर्ने छ ।

View : 727

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved