Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

‘सिलीगुडी डायलगमा मोरङ उद्योग व्यापार संघको सहभागिताः

नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरणमा जोड

उद्‌घोष संवाददाता
३० जेठ २०८३, शनिवार

Advertisement

विराटनगर । नेपाल र भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले भारतको सिलीगुडीमा आयोजित दुई दिने ‘सिलीगुडी डायलग २०२६’ मा मोरङ उद्योग व्यापार संघले पनि सहभागिता जनाएको छ । 

कनफेडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनलअफेयर्स (एआईडीआईए)ले संयुक्त रुपमा सिलीगुडीमा आयोजना गरेको ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक सो संवाद कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहको नेतृत्वमा कार्यकारीणी सदस्य विनीत सिंघानिया सहित विराटनगरका उद्योगीहरु ऋषभ सोमानी र केतन साहले सहभागिता जनाएका हुन ।

दुई देशका नीति–निर्माता, लगानीकर्ता, उद्योगी र विज्ञहरुको सहभागितामा नेपाल र भारतबीच द्विपक्षीय हित र आर्थिक समृद्धिका लागि महत्वपूर्ण मानिएका विषयहरुमा गहन छलफल गर्ने उद्देश्यले आयोजित सो संवाद कार्यक्रमको उदघाटन सत्रमा विशेषगरी पर्यटन तथा नवीकरणीय ऊर्जा, ग्रामीण तथा सम्पदा संरक्षण पर्यटन, स्वास्थ्य सेवा समन्वय, शिक्षा र उद्यमशीलता, शैक्षिक साझेदारी आदिविषयहरुमा छलफल गरिएको थियो ।

कार्यक्रममा सुझाव प्रस्तुति, अनुभव आदान प्रदान तथा छलफलका क्रममा वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले आर्थिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा दुई देशबीचको ऐतिहासिक सम्बन्धहरुबारे चर्चा गर्दै पर्यटन, नवीकरणीय ऊर्जा र स्वास्थ्य जस्ता क्षेत्रमा सहकार्यका प्रचुर सम्भावनाहरु रहेको औंल्याए । 

उनले तिनको व्यवहारिक कार्यान्वयनका लागि सुझाव हरु प्रस्तुत पनि गरेका थिए । 

त्यस्तै, संघको तर्फबाट महत्वपूर्ण अनुभव एवं व्यावहारिक दृष्टिकोणहरु प्रस्तुत गर्दै उनले नेपालमा लगानीको वातावरण सुध्रिदै गएको अवस्थामा भारतीय लगानीकर्ताहरुका लागि औद्योगिक, शैक्षिक र पूर्वाधारका क्षेत्रहरु निकै आकर्षक गन्तव्य बन्न सक्ने धारणा राखे ।

उनले सीमापार व्यापार सहजीकरण, नीतिगत निरन्तरता र निजी क्षेत्रबीचको नियमित संवादले मात्रै व्यापारिक क्षेत्रमा देखिएका व्यावहारिक अड्चनहरु फुकाउन सक्नेमा जोड दिएका थिए । 

उनले भौगोलिक रुपमा नेपाल, भुटान र बंगलादेशको त्रिदेशीय र संवेदनशील बिन्दुमा अवस्थित सिलीगुडी कोरिडोरलाई आर्थिक अवसर, आपसी विश्वास र दीर्घकालीन सहयोगको बलियो सेतु बनाउन सिलीगुडी डायलग २०२६ ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा एआईडी आईएका संस्थापक तथा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल केसी, सीआईआई उत्तर बंगाल जोनल काउन्सिलका अध्यक्ष सतिश मित्रुका, काउन्सिलका उपाध्यक्ष अमल मण्डल, नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष कुणाल कायलको सहभागीता थियो । 

यसैगरि ग्रामीण सम्पदा संरक्षण पर्यटनका विशेषज्ञ सुप्रतिम (राज) बसु, किन्स हस्पिटलका संस्थापक सुमित सिंघल, आईईसी ग्रुप नेपालकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, आईआईएएस स्कुल अफ म्यानेजमेन्टका प्रँचार्य  डा. केभी राजेन्द्रन नायर र ग्लोकल प्राइभेट लिमिटेडका अध्यक्ष आशिष ठाकुर, प्रतिनिधि सभाका सांसद पारशमणी गेलाल लगायतको सहभागी थियो ।

View : 183

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved