काठमाडौँ, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।
पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।
पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ ।
सो केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले दश/दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् ।
स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्रसमेत गरेको छ ।
पार्टीका प्रदेश समितिले पनि राहत रकम सङ्कलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
केन्द्रीय कार्यालयमा पार्टीको विपद् व्यवस्थापन विभागले ‘हेल्प डेस्क’ स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था माओवादीले जनाएको छ । रासस
View : 61
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved