Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

अभिभावकविहीन बालबालिकाको काँधमा गाउँपालिकाको हात

इलामको रोङ गाउँपालिकाले २१ जना अभिभावकविहीन बालबालिकाको लालनपालन र शिक्षादीक्षाको जिम्मा लिएको छ ।
उद्‌घोष संवाददाता
१२ मंसिर २०८२, शुक्रवार

विराटनगर । आमा बितेको केही वर्षमै बाबुले दोस्रो बिहे गरेपछि सात वर्षीय बालकको रेखदेख घरैमा पनि राम्रोसँग हुन छाडिसकेको थियो । हुर्कौलो उमेरका ती बालकको शिक्षादीक्षा र लालनपालनमै समस्या देखेपछि गाउँमै रहेका एक आफन्तको चित्त कुँडियो । उनले ती बालकलाई आफूसँगै लगे ।

‘खासमा मेरो मन मात्रै फराकिलो रहेछ मेरो आर्थिक हैसियत र कमाइले छोराछोरी र थपिएको अर्को बालकको दायित्व पूरा गर्न हम्मे पर्न थालेको थियो,’ बिहीबार इलामको रोङ गाउँपालिका कार्यालयमा पालिकाले बोलाएर आएका ती व्यक्तिले भने ‘आजबाट धेरै हलुका अनुभव भएको छ । मैले आश्रय दिएको बाबुको जिम्मा गाउँ सरकारले लिने घोषणा गरेको छ ।’ उनलाई यस्तो ढुक्कको अनुभूति गराउने भरथेग स्थानीय सरकारले गरेको हो । 

बिहीबार दिउँसो इलामको कोल्बुङस्थित रोङ गाउँपालिकाको कार्यालयमा ती २१ जना आश्रयदाता स्थानीयबासीहरु आफूले आश्रय प्रदान गरिरहेका अभिभावकविहीन बालबालिकासहित उपस्थित थिए । 

उनीहरूका माझ पालिका अध्यक्ष मनिकुमार स्याङ्बोले घोषणा गरे ‘अबदेखि पालिकाभित्र रहेका अभिभावकविहीन बालबालिकाका लागि पालिका साथमा उभिनेछ । उनीहरुको लालनपालनदेखि शिक्षादीक्षासम्म्मको सम्पूर्ण ग्यारेन्टी गाउँपालिकाको हुनेछ ।’

पहिलो चरणमा पालिकाले पालिकाभित्र रहेका अभिभावकविहीन २१ जना बालबालिकाका लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा, एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरिदिएको छ ।
त्यसैगरी ती २१ जनै बालबालिकाको बैंक खाता खोलिदिएर एकमुष्ठ ३०–३० हजार रुपैयाँ पनि जम्मा गरिदिएको छ ।

‘२१ जना बालबालिकाको खातामा गाउँपालिकाले १०–१० हजार रुपैयाँ र सिद्धिखोला हाइड्रोपावर कम्पनीले २०–२० हजार जम्मा गरिदिएका छौं,’ अध्यक्ष स्याङ्बोले भने ‘अहिलेको रकममा पालिकाले क्रमशः थपिदिंदै जानेछ । उनीहरुले कक्षा १२ सकेपछि यो रकम निकाल्नेछन् ।’ 

रोङ गाउँपालिकाको सिद्धि खोलामा विद्युत उत्पादन गरिरहेको हाइड्रोले पालिकाको आग्रहमा बालबालिकालाई एकमुष्ठ सहयोग उपलब्ध गराएको हो । 

अध्यक्ष स्याङबोका अनुसार पालिकाकै पहलमा उनीहरु सबैको डिम्याट खाता खोलिनेछ र उनीहरुले विभिन्न कम्पनीको आईपीओ भर्नेछन् । 

‘कक्षा १२ सम्म उनीहरुको शिक्षादीक्षाको सबै खर्च पालिकाले ब्यहोर्नेछ,’ उनले भने ‘१२ सकेर निस्कँदा उनीहरुका लागि उच्च शिक्षा पढ्नलाई अहिलेको यो रकम र सेयरमा गरिने लगानीले सहयोग पुग्ने आशा छ ।’

पालिकाका अनुसार ती २१ जना बालबालिका अहिले आफन्त र छिमेकीको आश्रयमा छन् । उनीहरुलाई बासको प्रबन्ध गर्न पालिकाले होस्टल बनाउने भएको छ । 

‘यदि उनीहरु इच्छुक भए होस्टलमै बस्नेछन् । यदि अहिले बसिरहेकै ठाउँमा बसे भने पनि पालिकाले उनीहरुको लालनपालनमा कुनै कमी गर्ने छैन । बाआमा वा अभिभावक नभएका बालबालिकाका लागि स्थानीय सरकार अभिभावक बनेर उभिनेछ ।’

पालिकाको यस्तो कदमले आफूहरुलाई आत्मविश्वास जागेर खुसी लागेको बालबालिकाहरुको भनाइ छ । बिहीबार पालिकाले उनीहरुलाई शैक्षिक सामग्री, खाने लगाउने सामग्रीसमेत हस्तान्तरण गरेको छ ।

‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ नाम दिइएको यो कार्यक्रम सञ्चालन गर्न पालिकाले ‘उद्यमशीलतामा आधारित अध्यक्षसँग बिद्यार्थी कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ पास गरि लागू गरेको छ ।

यसअघि स्थानीय किसानबाट साग किनेर गुन्द्रुक ब्राण्डिङ गरेको रोङ गाउँपालिकाले  विद्यार्थी बचत कार्यक्रम दुई वर्षदेखि सञ्चालन गरिरहेको छ ।  

विद्यार्थी उद्यमशीलता कार्यक्रम र विद्यार्थी प्रोत्साहन कार्यक्रम पनि लगत्तै घोषणाको तयारी रहेको पालिकाको भनाइ छ ।

View : 183

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved