Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका कार्यालयमा पहिरोको लेदो (फोटो)

उद्‌घोष संवाददाता
४ साउन २०८१, शुक्रवार

विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको भवनसहित केही घरहरु शुक्रबार बिहान करिव दुई बजेतिर खसेको पहिरोको लेदोले पसेर क्षतिग्रस्त भएका छन् । 

वडा नं. ५ स्थित गाउँपालिकाको कार्यालय रहेको तोपेथोकभन्दा तीन सय मिटरमाथि रहेको सल्लेरी डाँडाबाट खसेको पहिरोले गाउँपालिकासहितका घरहरू क्षतिग्रस्त बनेका छन् ।

पहिरो खस्दा बगेर आएको लेदो गेग्रानले गाउँपालिका भवन र प्रहरी भवनमा क्षति पुगेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक बहादुर भट्टराईले बताए । त्यस क्षेत्रमा लगातार बर्षा भइरहेको थियो । जोखिम बढेका कारण पहिले नै स्थानीयवासीहरू त्यहाँबाट अर्को ठाउँमा सरेर बसेका कारण मानवीय क्षति नभएको जनाइएको छ ।

पहिरोको लेदो बगेर तमोर नदीसम्मै झरेको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुले जानकारी दिए ।

‘राती २ बजेतिरको घटना हो, गाउँपालिकाको कार्यालय र अर्को एउटा घरमा बढि भएको छ, मेरो (उपाध्यक्ष) चेम्बर नै बगाएको छ’ उपाध्यक्ष लिम्बुले भने, ‘बस्तीभन्दा अलिक छेउबाट झरेकोले धेरै क्षति हुन पाएन ।’

गाउँपालिका बसेको उक्त भाडाको भएको उपाध्यक्ष लिम्बुले बताए । लगातार पानी पसेका कारण माथिबाट पहिरो खसेको जनाइएको छ । त्यहाँ १० वटा जति घरहरू रहेको उनले जानकारी दिए ।

क्षतिको मापन भएको छैन । अहिले प्रहरी पुगेर सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिइरहेको उपाध्यक्ष लिम्बुले बताए ।

पहिरोले विद्युतको पोलहरू समेत लडाएपछि विद्युत सेवा बन्द भएको छ ।

गाउँपालिकाको कार्यालयभित्रै लेदो पसेर क्षतिग्रस्त बनाएका कारण सार्वजनिक सेवा प्रवाह ठप्प भएको छ । लेदोले कर्मचारीहरूको मोटरसाइकल समेत पुरिएका छन् ।

View : 4320

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved