दलहरूमा गुटबन्दी
राजनीतिक दलमा गुट र उपगुटको अभ्यास हुनु स्वाभाविक हो । यसलाई अनर्थको रूपमा हेर्नु उचित होइन । गुट र उपगुट राजनीतिक परिस्थितिको परिणाम हो । पार्टीबाट नवपरिवर्तनका लागि कुनै पनि पार्टीभित्र गुट, समूह र टोली लगायतका विभिन्न समूहहरू उत्पन्न भइरहेका हुन्छन् । कुनै पनि गुट र समूह प्रायः राजनीतिक आस्थाका आधारमा स्थापित हुन्छन् ।
पार्टीभित्र वैचारिक रूपमा विभिन्न गुटहरू बीच प्रतिस्पर्धा हुने गर्दछ, जसले जनभावना र जनचाहनाको अभिव्यक्ति गर्दछ । वैचारिक गुट र समूह पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तर राजनीति आस्था र विचारले गुट र उपगुटलाई प्रभावित गरेको पाइन्छ । गुट र समूह बिना राजनीति दलको अस्तित्व सम्भव छैन । राजनीतिक दलको संरचनामा गुट र समूहको प्रभुत्व प्रायः देखा पर्दछ । यसका कारण दलभित्र शासन व्यवस्था कमजोर हुँदै गएको छ । पार्टीभित्र एउटा गुटको प्रभुत्वको प्रवृत्ति विकास भइरहेको छ, जसले अराजकतालाई जन्म दिइरहेको छ । तसर्थ, पार्टीका विधि र नियमहरूको पालना गरिनु महत्वपूर्ण छ, जसले पार्टीभित्र सुशासन कायम राख्न सहयोग पुर्याउँछ ।
हालको राजनीतिक दलभित्रको चरम गुटबन्दीले पार्टीको नेतृत्वमा गलत प्रवृत्तिहरूको विकास गरेको छ । पार्टी नेतृत्वको व्यक्तिगत स्वार्थले पार्टीका संस्थागत निर्णयहरूलाई प्रभावित गरेको छ । गुटबन्दीका कारण पार्टीभित्र अराजकता फैलिएको छ, जसले पार्टी संगठनलाई कमजोर बनाइरहेको छ ।
निरंकुश नेतृत्वको गुट
दलभित्र बेला–बेला निरंकुश नेतृत्वको प्रभाव बढ्दै गएको छ । निरंकुश नेतृत्वले पार्टीभित्र नै निराशा र असहजता ल्याएको छ । पार्टी संगठनमा सामूहिकता र अपनत्व घट्दै गएको छ । पार्टी नेतृत्व जनमुखी नभएर जालझेलको मानसिकताबाट प्रभावित भइरहेको छ । पार्टी नेतृत्वमा विवेकशीलताको अभाव देखा परेको छ । यसले पार्टीको विधि र जिम्मेवारीलाई कमजोर बनाइरहेको छ ।
निरंकुश नेतृत्वका कारण पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको छ, जसले संस्थागत निर्णयहरूलाई छायाँमा पार्दै आएको छ । पार्टीलाई ‘प्राइभेट कम्पनी’ बनाउन चाहने स्वेच्छाचारी नेतृत्वले राजनीति भागवण्डा प्रणालीलाई पनि प्रभावित बनाइरहेको छ । यसले योग्य नागरिकहरूलाई अवसर सीमित बनाइरहेको छ र सर्वसाधारण नागरिकलाई स्वेच्छाचारी नेतृत्वको चंगुलमा फसाउँछ । यस्तो गुट र समूहको नेतृत्वले दललाई नष्ट र भ्रष्ट बनाउन सक्छ ।
विरासतको गुट
पुराना राजनीतिक दलहरूमा विरासतको गुट प्रबल देखिन्छ, जसले दलभित्र गुटबन्दीलाई चरम सीमामा पुर्याएको छ । विरासतको गुट दलभित्र जकडिएको छ र यसको प्रभावले पार्टी संगठन र जनचाहनालाई कमजोर बनाइरहेको छ । यसले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाइरहेको छ । विरासतको गुटले पार्टीको सिद्धान्त र मूल्यहरूमा विचलन ल्याउन सक्छ । यसको परिणामस्वरूप, पार्टीको स्थायित्व र विकासमा समस्या आउन सक्छ । वंशवाद र परिवारवादको प्रभावले यस गुटलाई सबै प्रकारको नेतृत्वलाई समेट्न कठिन बनाउँछ ।
सम्पादनविहीन नेतृत्वको गुट
पार्टीको कार्य सम्पादन गर्न नसक्ने नेतृत्वले लक्ष्य र उद्देश्यको दिशाहीनता उत्पन्न गर्दछ । यसले पार्टीका सिद्धान्त र आदेशलाई प्रभावित बनाउँछ । नेतृत्वमा जनताप्रति जिम्मेवारीको अभाव र कार्यशैलीको कमजोरी हुन्छ । जनताप्रतिको जवाफदेहिता र उत्तरदायित्व सीमित बनाउँछ । गुट उपगुट मौलाएको अवस्थामा पार्टी नेतृत्वले सस्तो लोकप्रियता प्राप्त गर्नका लागि काम गर्न खोजेको पाइन्छ, जसले पार्टीका सिद्धान्त र नीति निर्देशनलाई कमजोर पार्दछ । यसप्रकारको नेतृत्व जनताको चासो र अपेक्षाप्रति सजग हुँदैन र यसले पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सकेको हुँदैन ।
पार्टी जनप्रतिनिधिहरूको गुट
पार्टी प्रणालीमा सांसद र जनप्रतिनिधिहरूको प्रमुख भूमिका हुन्छ । तर यिनीहरूमा गुट र उपगुटको असरले गर्दा पार्टी नीति र निर्देशनको सीमा भन्दा बाहिर हुन्छन् । उनीहरुको व्यक्तिगत स्वार्थ र सोचले पार्टीको नीति र सिद्धान्तलाई कमजोर पारिरहेको हुन्छ । यस्ता गुटगत प्रवृत्तिले पार्टी नेतृत्व र जनप्रतिनिधिहरू बीचको दुरीलाई थप बढाइरहेको छ ।जनप्रतिनिधिहरूको गलत प्रवृत्तिले पार्टीको नेतृत्वलाई प्रभावित पार्ने गर्छ । यदि यस प्रकारका गुट र प्रवृत्तिहरूलाई सुधार्न सकिंदैन भने, यसले दल र नागरिकको हितलाई नोक्सान पुर्याउँछ ।
अन्ततः हालको राजनीतिक दलमा गुट र उपगुटहरूको प्रभावले दल संगठनलाई बलियो र सशक्त बनाउन रोकिरहेको छ । गुट–उपगुटहरूको नेतृत्वले डनवाद र धनवादको वातावरण सिर्जना गरेको छ, जसले पार्टीको सिद्धान्त र मूल्यलाई स्थापित गर्न असक्षम बनाउँछ । त्यसैले, गुट–उपगुटलाई स्वच्छ र स्वस्थ राख्न विधिको शासनलाई अंगाल्नु अत्यन्त आवश्यक छ, जसले लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुर्याउँछ ।
View : 62
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved