Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

कस्तो चल्यो ‘हात्तीछाप’ र ‘दयारानी’

उद्घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

काठमाडौं । गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’पछि नेपाली फिल्मको व्यापार डामाडोल भएको थियो ।

बलिउड र साउथ फिल्मले नेपालमा करोडौं कमाउँदा घरेलु फिल्म भने एक हप्ता पनि हलमा टिक्न सकेका थिएनन् । जसले गर्दा बक्स अफिसलाई चलायमान बनाउन आशातित फिल्मको प्रतिक्षा भइरहेको थियो । त्यसमध्ये ‘हात्तीछाप’ र ‘दयारानी’प्रति धेरैको ठूलो अपेक्षा थियो ।

शुक्रबारबाट प्रदर्शनमा आएका यी दुई फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो भएकाले सुरुवाती व्यापार सुखद् हुन सक्ने प्रक्षेपण गरिएको थियो । तर, दुवै फिल्मको व्यापार अपेक्षाकृत हुन सकेको छैन । यद्यपि, ‘दयारानी’ले केही आशा जगाएको छ । शुक्रबार पोखरासहित केही ठूला सहरहरूमा ५० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको फिल्मले शनिबार पनि त्यसलाई घट्न दिएन ।

विशेषगरी दुई दिन पोखरामा फिल्मको अकुपेन्सी उच्च रहृयो । यसको पछाडि दुई वटा कारण छन् । पहिलो, ‘दयारानी’का निर्देशक माओत्से गुरुङ पोखराका हुन् । त्यहाँ उनको ठूलो नाम छ । उनको नामैले पनि हलमा दर्शक तानेको छ ।

दोस्रो, फिल्मले गुरुङ समुदायको कथा उठाएको छ र पोखरामा त्यही समुदायको घनत्व छ । यिनै कारणले पोखरामा फिल्मको व्यापार सुखद् देखियो ।

पोखराको मिड टाउन सिनेमाजले ‘दयारानी’लाई शुक्रबार र शनिबार ७/७ शो दिएको थियो । र, सबै शो हाउसफुल भएका थिए ।

आइतबार पनि मिड टाउनले फिल्मलाई ७ शो नै उपलब्ध गराएको छ । त्यस्तै, पूर्वका दमक, विर्तामोड, इटहरीका हलमा पनि दुई दिन फिल्मको व्यापार सुखद् रहेको थियो । काठमाडौं उपत्यकाका हलमा भने फिल्मप्रति दर्शकको ‘क्रेज’ सामान्य देखिएको छ ।

त्यस्तै, ‘हात्तीछाप’को शुक्रबारभन्दा शनिबारे व्यापार सुधारउन्मुख देखियो । एकातिर सार्वजनिक विदा र अर्कोतिर सोनाम ल्होसार परेकाले हलमा दर्शकको चाप सुखद् थियो ।

शनिबार अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता बुद्धि तामाङ दर्शकको प्रतिक्रिया बुझ्न चाबहिलस्थित एफक्यूब हल पुगेका थिए । त्यहाँ अधिकांशले फिल्मको प्रशंसा गर्दै सिक्वेल चाँडै ल्याउन आग्रह गरेका थिए ।

आइतबारबाट ‘हात्तीछाप’ र ‘दयारानी’को वास्तविक परीक्षा सुरु भएको छ । हलमा लामो रेसको घोडा बन्न दुवै फिल्मलाई सशक्त ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । अर्थात् अब कन्टेन्ट बोल्नुपर्ने हुन्छ ।

तर, दुवै फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया प्राप्त भएकाले व्यापारमा उछाल कायम गर्न चुनौतीपूर्ण देखिन्छ ।

यद्यपि, दुवै फिल्मका निर्माता व्यापार बढ्नेमा आशावादी छन् ।

View : 69

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved