विराटनगर । ७६औं प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगर–४ स्थित मदरल्याण्ड एकेडेमी स्कुलले बिहीबार आयोजना गरेको ‘मदरल्याण्ड चित्रकला प्रतियोगिता’ को बिजेताहरू मतदानबाट छानिएका छन् ।
विद्यालय तहमा लोकतान्त्रिक अभ्यास, अभिभावक र विद्यार्थीबीचको अन्तरक्रिया र कला क्षेत्रको व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा उभ्याउने प्रयासका रूपमा विद्यालयले ‘नौलो अभ्यास’ का रूपमा मतदानबाट विजेता घोषित गरेको हो ।
विद्यालयका प्राचार्य मोहन बुढाथोकीका अनुसार प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत ६६ जना विद्यार्थी चित्रकला प्रतियोगिताका प्रतिस्पर्धी थिए ।
आन्तरिक प्रतियोगिताबाट छनोट गरिएका विद्यार्थीका चित्रहरूलाई सार्वजनिक रूपमा प्रदर्शनीमा राखेर अभिभावकलाई मतदान गर्न लगाइएको हो ।
बिहीबार गरिएको मतदानमा तीन हजार ६८३ जनताले मतदान गरेका थिए ।
एकजनाले अधिकतम् चार जनालाई मत दिन पाउने व्यवस्था गरिएकोमा अभिभावकहरूको उपस्थितिमा मतदान सम्पन्न भएको प्राचार्य बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कक्षा ७ मा अध्ययनरत रिदम गौतम २३५ मत पाएर प्रथम बने र नगद १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
कक्षा ६ की कृतिमा बुढाथोकीले १६७ मत प्राप्त गर्दै द्वितीय भइन् । उनले ६ हजार रूपैयाँ पुरस्कार प्राप्त गरेकी छन् ।
कक्षा ३ की गरिमा पाण्डे १५६ मतका साथ तृतीय भइन् । उनले ४ हजार रूपैयाँसहित पुरस्कृत भइन् । कक्षा ७ का संकल्प चौधरी १५४ मतसहित सान्त्वना स्थान हाँसिल गर्दै २ हजार रूपैयाँ पुरस्कार पाइन् ।
कार्यक्रम संयोजक मुस्कान थापा, चित्रकला प्रशिक्षक विशाल साह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गीता गौतमलगायतले विजेता विद्यार्थीहरूलाइ पुरस्कार वितरण गरेका छन् ।
प्राचार्य बुढाथोकीले प्रतियोगिता गराउन मात्रै नभएर विद्यार्थीलाई सामाजिकीकरण गर्न, उनीहरूमा नेतृत्व विकास गराउन, अभिभावकसँग घुलमिल तथा संवाद र संस्कारको विकास गर्नका लागि यस्तो अभ्यास गरिएको बताए ।
बिहीबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म विद्यालयभित्रै मतदान भएको थियो ।
View : 76
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved