विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ मा श्रीमानले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । बुधबार बिहान ६० वर्षका बमबहादुर लिम्बुले ४५ वर्षीया श्रीमती गीता लिम्बुको धारिलो हतियारले हानेर हत्या गरेका हुन् ।
श्रीमतीको हत्यापछि बमबहादुर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार लिम्बूले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको जानकारी दिए ।
लिम्बू दम्पती बेलबारी–१ भेडाटोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरामा बस्दै आएका थिए । बुधबार बिहान करिव दुई बजेतिर उनले श्रीमतीका आक्रमण गरेको खुलेको छ ।
गीताको टाउको र अनुहारमा धारिलो हतियारको चोटपटक छ । बमबहादुरले गीतामाथि दाउले प्रहार गरेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यापछि बमबहादुरले पनि सोही दाउले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता दाहालले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोली पुगेर बमबहादुरलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाएको थियो । तर नोबेलका चिकित्सकहरूले उनले बिहान साढे तीन बजेतिर मृत घोषणा गरेका थिए ।
हत्या र त्यसपछिको आत्महत्याको अवस्था आउने गरी उनीहरूबीच के विवाद थियो भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
View : 1133
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved