Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एसइई नतिजामा पोखरिया मावि देशभरकै सर्वोत्कृष्ट

उद्घोष सम्वाददाता
१५ जेठ २०८१, मङ्गलवार

विराटनगर ।सइई परीक्षाको नतिजामा विराटनगरको पोखरिया माध्यमिक विद्यालय देशभरकै  सर्वोत्कृष्ट विद्यालय घोषित भएको छ ।

विद्यालयबाट अघिल्लो शैक्षिक सत्रमा माध्यमिक तर्फको एसइई परीक्षामा सहभागी भएका ३६० जना विद्यार्थीहरू मध्ये ७४ दशमलव ४४ प्रतिशत विद्यार्थीहरूले औसत स्तरीकृत अङ्क (जिपिए) ३ दशमलव २ वा सो भन्दा माथि प्राप्त गरेको भन्दै देशभरबाट सर्वोत्कृष्ट घोषित भएको हो ।

कम्तिमा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी गराएर जिपिए ३ दशमलव २ वा सो भन्दा माथि प्राप्त गर्ने देशभरका १५ वटा विद्यालयहरू रहेका छन् । आइतबार सार्वजनिक भएको आर्थिक बर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार पोखरिया मावि देशभरमै उत्कृष्ट नतिजामा पहिलो भएको उल्लेख छ ।

पोखरियासँगै कोशी प्रदेशबाट खोटाङको सरस्वती मावि दिक्तेल चौथो स्थानमा रहेको छ । सरस्वती माविबाट एसइई परीक्षामा सहभागी भएका १७५ जना विद्यार्थीहरू मध्ये ६१ दशमलव १४ प्रतिशतले जिपिए ३ दशमलव २ र सो भन्दा माथिको नतिजा हासिल गरेका हुन् ।

आर्थिक सर्वेक्षण अनुसार विराटनगरको आदर्श मावि पनि उत्कृष्ट नतिजाका लागि १२ औं स्थानमा परेको छ । आदर्शबाट एसइईमा सहभागी भएका ३७५ जना विद्यार्थीहरू मध्ये ३९ दशमलव ४६ प्रतिशत विद्यार्थीहरूले जिपिए ३ दशमलव २ भन्दा माथि प्राप्त गरेको जनाइएको छ ।

सुकुना माविमा ४ हजार बढी विद्यार्थी

आर्थिक सर्वेक्षण अनुसार विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तरमा भएको वृद्धिका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख छ । सोही कारण देशभरका सामुदायिक विद्यालयहरू मध्ये मोरङको सुन्दरहरैंचास्थित सुकुना माविमा विद्यार्थीहरूको संख्या ४ हजार बढि रहेको जनाइएको छ ।

शैक्षिक सत्र २०८० मा सुकुना माविमा कुल चार हजार ९६ विद्यार्थीहरू अध्ययनरत रहेको जनाइएको छ ।

विद्यार्थी संख्याका आधारमा देशभरका सबैभन्दा धेरै विद्यार्थी हुने १५ वटा विद्यालयहरू मध्ये सुकुना मावि नवौं स्थानमा रहेको छ । 

कोशी प्रदेश अन्तरगत कै झापाको मेचीनगरस्थित धुलाबारी मावि पनि १५ वटा विद्यालयभित्र परेको छ । उक्त विद्यालयमा ३ हजार ५८० विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर ६९ दशमलव ९ प्रतिशत तथा संस्थागत विद्यालयमा ३० दशमलव १ प्रतिशत रहेको  आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

View : 551

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved