Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्रदेश सभामा प्रतिस्थापन विधेयक पेश : अघिल्लो सरकारले ल्याएकोमा ५० करोड थपेर आयो बजेट

उद्‌घोष सम्वाददाता
९ मंसिर २०८०, शनिवार

विराटनगर, ९ मंसिर : आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थपेर प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्री कार्कीले शनिबार प्रदेश सभामा ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । अघिल्ला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक असार ३२ गते अध्यादेशबाट ल्याएको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेटलाई नै दोस्रो पटकको अध्यादेशमार्फत कार्यन्वयनमा लगेका थिए ।

वर्तमान मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमहरू कार्यान्वयन भन्दै आकार बढाएर बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजन मध्ये चालु खर्चतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पूँजीगत खर्च २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको बताए । चालु खर्च मध्येमा संघीय अनुदान बचत फिर्ता तर्फ २ अर्ब रहेको बताए ।

चालु आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार खर्च व्यहोरिने प्रतिस्थापन विधेयक बक्तव्यमा उल्लेख छ ।

 

View : 188

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved