आजदेखि कांग्रेस प्रदेश सभा बैठकमा सहभागी हुने
विराटनगर । लगातार तीनवटा बैठकमा अनुपस्थित भएको नेपाली कांग्रेस सोमबारदेखि प्रदेश सभा बैठकमा सहभागी हुने भएका छन् । सोमबार अपरान्ह बसेको संसदीय दलको बैठकपछि निर्णय सार्वजनिक गर्दै दलका नेता उद्धव थापाले संसदीय पद्धति र प्रणालीबाटै समस्याको समाधान खोज्ने र जनताको आवाज मुखारित थलोका रुपमा प्रदेश सभा रहेकोले बैठकमा सहभागी हुने जानकारी दिए ।
हिक्मत कुमार कार्की नेतृत्वको वर्तमान सरकार गठनको प्रक्रियाप्रति अदालतमा विषय विचाराधीन रहेको अवस्थामा निवर्तमान मुख्यमन्त्री केदार कार्कीको दबाबमा कांग्रेसले अघिल्लो बैठकमा सहभागी नहुने धारणा तय गरेको थियो ।
तर कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहित सोमबार बसेको संसदीय दलको बैठकले प्रदेश सभा बैठकमा उपस्थित हुने निर्णय गरेको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सोमबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रस्तुत गर्दैछन् । सरकार गठनको विषय अदालतमा प्रवेश गरेकोले त्यो टुंग्याउन अनिश्चित समय लाग्ने देखिएको कांग्रेस संसदीय दलका नेता थापाले बताए ।
‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा जनताको जनजिविकाको सबालहरू प्रदेशसभामार्फत सम्बोधन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै प्रदेशको विकास निर्माण र समृद्धिका लागि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट जनहितमा छ छैन भनी खबरदारी गर्नुपर्ने महत्वपूर्ण सवाल र समयलाई समेत आत्मासाथ गर्दै दल प्रस्तुत हुनुपर्ने ठहर गर्दछ’ दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
कोशी प्रदेश सरकार गठन प्रक्रिया अवैधानिक भएको भन्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रस्तुत गर्दै आएको धारणा भने यथावत राखेको जनाइएको छ ।
अदालतमा मुद्दा विचाराधीन रहेसम्म प्रदेश सभाको बैठक नबोलाउन र बोलाएमा नेपाली कांग्रेसको तर्फबाट अनुपस्थिति रहने जानकारी पटक– पटक गराउँदै आएको उल्लेख छ । तर मुद्दा टुंग्याउन अनिश्चित समय लाग्ने देखिएकोले सरकारको तर्फबाट नीति तथा कार्यक्रम एवम् बजेट पनि प्रस्तुत गर्ने समय सीमालाई मध्यनजर गर्दै बैठकमा सहभागी हुने गरी दलको धारणा सार्वजनिक गरिएको उनले बताए ।
प्रचार विभाग प्रमुख विश्वकर्माले कांग्रेस संसदीय दल कोशी प्रदेशले प्रदेश सभाको बैठकमा सहभागी हुने निर्णय सर्वसम्मत रुपमा गर्ने जानकारी दिए । उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेदेखि छलफलसम्मका सबै बैठकमा स– गौरव प्रस्तुत हुने बताए ।
‘नीति तथा कार्यक्रम प्रस्तुत हुने कुरालाई हामी स्वागत गर्दछौँ, यो नियमावली अनुसार आउने कुरालाई प्रक्रियामा आउन दिने हो, नीति तथा कार्यक्रममा प्रतिपक्षले विरोधै गर्नुपर्छ भनेर पहिलो दिन नै विरोधै गर्नुपर्छ भन्ने पनि होइन, समर्थन नगर्नु पर्ने रहेछ भनेर बैठकमा नगइकन विरोध गर्ने कुरा पनि होइन’ विश्वकर्माले भने, ‘छलफलमा सहभागी हुन्छौं, खबरदारी गरेर त्यसलाई केलाएर ठिक बेठिक छुट्याउने काम पनि गर्छौँ ।’
View : 175
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved