सुनसरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलिप्रति संघीय संसदमा आवाज उठेको छ ।
नगरप्रमुख पौडेलले असार २० गते सामाजिक सञ्जालमा इटहरीको समग्र पत्रकारितामाथि बदनाम गराउने मनसायले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद भगवती चौधरीले टिप्पणी गरेकी हुन् । चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
नगरपालिकामा हुने गरेको विकृति विसंगति बिरुद्ध प्रश्न गर्ने र आलोचना गर्नेलाई नगरप्रमुख पौडेलले प्रहरी लगाएर थुन्ने काम भएको सांसद चौधरीको भनाइ छ ।
नगरप्रमुख पौडेलको अभिब्यक्ति विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलनमार्फत लोकतन्त्रको पक्षमा आवाज उठाइरहेको बेलामा एक्लो महसुस गरेको उनले बताएकी हुन् ।
नगरप्रमुख पौडेलको नाम नलिई शून्य समयमा बोल्दै चौधरीले इटहरीमा भएका घटनाहरू उल्लेख गरेर संसद् र सरकारको ध्यानाकर्षण गराएकी छन् ।
गत असार २० गते नगरप्रमुख पौडेलले ‘समाचार प्रकाशित हुनुअगाडि नै नगर प्रमुखको सचिवालयमा जानकारी हुने र दानापानी नआएपछि भोलिपल्ट लाज छोप्न प्रकाशन÷प्रसारण हुने गरेको’ अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिले पत्रकारको मात्र नभएर इटहरीकै बेइज्जत भएको महासंघले ठहर गरेको छ ।
यसअघि इटहरी वडा नम्बर २ निवासी ताजिना विष्टले टिकटकमा भिडियो पोस्ट गरेपछि इलाका प्रहरी कार्यालय पुगेर लिखित माफी मागेकी थिइन् ।
इटहरीका नगरप्रमुख पौडेललाई पिपलचौक पूर्वको खाल्डाखुल्डी देखाउँदै बाटो किन बनेन भन्दै प्रश्न गरेकी उनलाई पौडेलको सचिवालयले दिएको उजुरीको आधारमा प्रहरीले लिखित माफी मगाएको थियो ।
View : 588
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved