Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

राष्ट्रिय सभा निर्वाचन: कोशीमा एमालेबाट ९ जनाको नाम सिफारिस

उद्घोष सम्वाददाता
२२ पुष २०८०, आइतवार

विराटनगर । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ ।

एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले प्रदेशबाट केन्द्रीय कमिटीलाई नौ जनाको नाम सिफारिस गरेको जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार कोशी प्रदेशको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आउँदो माघ ११ गते निर्वाचनको कार्यक्रम तोकिसकेको छ ।

एमालेले कोशी प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनमा अन्यतर्फ पाँच र महिलातर्फ चार जनाको नाम सिफारिस गरेको हो । प्रदेश अध्यक्ष खतिवडाका अनुसार अन्यतर्फ उमानाथ ओली (झापा), हरिचरण बानियाँ (झापा), तेजमान कन्दङ्वा (तेह्रथुम), कर्ण घले (खोटाङ) र पर्शुराम अधिकारी (भोजपुर) लाई आकांक्षी उम्मेदवारका रुपमा सिफारिस गरेको जनाइएको छ ।

त्यसैगरी महिलातर्फ रुकमिणी कोइराला (सुनसरी), रोशनी मेचे (झापा), मेचीमाया धिमाल (मोरङ) र कान्ता राई (उदयपुर) लाई सिफारिस गरेको हो । खतिवडाले केन्द्रीय समितिमा नाम सिफारिस गर्दा यी नामहरुमध्येबाटै प्राथमिकता क्रमसमेत मिलाएर सिफारिस गरेको बताए ।

कोशी प्रदेशमा राष्ट्रिय सभामा कांग्रेसका रमेशजंग रायमाझी र नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पद खाली हुन लागेको हो । जम्मा २० जनाको पद खाली हुने भए पनि १९ जनाको निर्वाचन हुने जनाइएको छ । पद खाली हुने मध्ये ९ जना भने एमालेका छन् । 

एमालेबाट राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेश तिमल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल (मनोनित) को पद खाली हुन लागेको हो ।

एमालेले राष्ट्रिय सभा निर्वाचनमा बृहत गठबन्धन गरेर भाग पाउने गरी छलफल भए पनि गठबन्धनमा रहेका दलहरुले एमालेलाई भाग नदिने निर्णय गरिसकेका छन् । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।

View : 91

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved