Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

फाल्गुनन्द जयन्ती मनाइयो

उद्घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

विराटनगर । किरात धर्मका महागुरु, राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ४० औं जन्मजयन्ती मनाइएको छ । 

विराटनगर–१५ स्थित किरातेश्वर माङ्खिमले आइतबार पूजापाठ र हवन लगायतका विविध कार्यक्रम आयोजना गर्दै महागुरुको जन्मजयन्ती मनाएको हो । 

किरँत धर्मको उत्थान र समाज सुधारको क्षेत्रमा उनले पु¥याएको योगदानको स्मरण गर्दै महागुरुको जन्मजयन्ती मनाइएको हो ।

जन्मजयन्तीको अवसरमा पूजापाठसहित प्रसाद वितरण र दीप प्रज्ज्वलन लगायतका कार्यक्रम आयोजना गरिएको माङ्खिमका शब्दी गुरु भीमबहादुर योङहाङले जानकारी दिए । 

महागुरुले प्रतिपादन गरेको समाज सुधारका सुत्रहरु समेटेर उनले जारी गरेको ‘सत्य धर्म मुचुल्का’ अझ पनि समाज सुधारका लागि प्रभावकारी रहेको योङहाङले बताए ।

फाल्गुनन्दले छोरीको विवाह गर्दा पैसा लिन नहुने, भगवानको पूजा गर्दा जीवहत्या गर्न नहुने तथा मद्यपान र मासु सेवन गर्न नहुने सहितका समाज सुधारका बिषयहरु धर्म मुचुल्कामा समेटेको जनाइएको छ ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किरात, भाषा, लिपि, संस्कार र संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान दिएको बताइएको छ । 

महागुरु फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो । उनको योगदानको कदर गर्दै २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

View : 112

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved