विराटनगर । कोशी प्रदेशमा खेलकुदको स्तर उकास्ने लक्ष्यसहित विराटनगर–३ पुष्पमार्गमा अत्याधुनिक ‘विराट स्पोट्र्स जोन’ सञ्चालनमा आएको छ ।
डिजिटल उपकरणमा बढ्दो निर्भरता कारण बालबालिका र युवामा खेलप्रतिको रुचि घट्दै गएको सन्दर्भमा स्पोट्र्स जोनले खेलकुदप्रति आकर्षण बढाउने अपेक्षा साथ स्पोर्ट्स जोन सञ्चालनमा ल्याएको हो ।
स्पोट्र्स जोनको मुख्य आकर्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट एकेडेमी हो ।
बहु–पिच सुविधा, आधुनिक उपकरण र वैज्ञानिक प्रशिक्षण संरचनासहित सञ्चालनमा आएको एकेडेमीमा राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सिद्धान्त लोहनीसहित अनुभवी प्रशिक्षक टोलीले प्रशिक्षण दिनेछ ।
भर्ना शुल्क ५ हजार र मासिक शुल्क ३ हजार रुपैयाँ तोकिएको छ भने प्रत्येक खेलाडीलाई ५ लाख रुपैयाँ बराबरको जीवन बीमाको व्यवस्था गरिएको छ ।
यसका साथै विराटनगरमै पहिलोपटक गोकार्ट सेवा सुरु गरिएको छ ।
सुरक्षित ट्य्राक र आधुनिक सुरक्षा मापदण्डसहित सञ्चालनमा आएको गोकार्टले साहसिक खेलप्रेमीलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
स्पोट्र्स जोनमा फुटसल, क्रिकसल, स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबलटेनिस नियमित सञ्चालनमा छन् ।
महिला खेलाडी प्रोत्साहनका लागि क्रिकेट र फुटबलमा भर्ना हुने महिलाको शुल्क निःशुल्क गरिने घोषणा गरिएको छ । यसले महिलाको रुचि र खेलप्रेमप्रतिको आकर्षण उकास्ने प्रयास गरिएको सञ्चालकले जनाएका हुन् ।
सञ्चालक हरि बजगाईंले विराट स्पोट्र्स जोनलाई कोशी प्रदेशकै आधुनिक खेलकुद हबका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
View : 94
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved