विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माबीच केही कुरामा समानता छ । उनीहरू दुवै झापाली हुन् ।
आ–आफ्नो पार्टीमा दुवै जना निर्णायक तहमा छन् । उनीहरू दुवैमा विनोदी स्वभाव प्रचुर छ ।
मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा यी दुई नेताबीचको छलफल करिब तीन घन्टासम्म चल्यो । यो भेटको सन्दर्भ थियो–प्रदेश सरकारहरूको नेतृत्व परिवर्तनको विषय ।
हाल ६ प्रदेशमा यी दुई दलको प्रत्यक्ष सहकार्य छ भने मधेस प्रदेशमा माओवादीसहितको समर्थनमा कांग्रेस नेतृत्वमा सरकार छ ।
अन्य प्रदेशहरूबारे छलफल गर्दै गर्दा शर्मा र ओलीबीच कोशीको नेतृत्व परिवर्तनबारे लामै छलफल भएको उनीहरू निकट स्रोतले बताएको छ ।
छलफलमा नयाँ बजेट अघि नै कोशी सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै कांग्रेस उपसभापति शर्माले पूर्व सहमति अनुसार प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएर अघि बढ्न ओलीसामु प्रस्ताव गरेका छन् ।
जवाफमा ओलीले आफू पनि कोशीमा मुख्यमन्त्री फेर्ने तयारीमा रहेको तर अहिलेका मुख्यमन्त्री हिक्मत कार्कीको ठाउँमा एमालेकै अर्को नेतालाई मुख्यमन्त्री बनाउनु पर्ला भन्ने सोचमा रहेको बताएका थिए ।
‘ओलीले हिक्मतजीको ठाउँमा एमालेले अर्को व्यक्तिलाई अघि सार्छ कांग्रेसले साथ दिनुप¥यो भन्नुभएको छ । सुरूआती छलफल भएकाले कुराकानी त्यो भन्दा धेरै अगाडि बढेको छैन ।’
कांग्रेस नेताहरूले पनि अहिले सैद्धान्तिक छलफल मात्रै भइरहेको बताएका छन् ।
‘सैद्धान्तिक रूपमा छलफल सुरू भएको छ, कहिले कहाँको मुख्यमन्त्री फेर्ने भन्ने मितितिर छलफल प्रवेश गरिसकेको छैन,’ कांग्रेस उपसभापति शर्मा निकट स्रोतले भन्यो ‘तर, उपसभापतिजीले कोशीमा बजेट अघि नै कांग्रेसले सरकारको नेतृत्व लिने कुरालाई बटमलाइनकै रूपमा राख्नुभएको बुझिएको छ ।’
कोशीमा पूर्व सहमति कार्यान्वयन नभए कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्नुपर्ने माग कांग्रेसभित्र तीव्र छ ।
२०८१ वैशाखमा तत्कालीन माओवादीको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका अहिलेका एमाले सचिव हिक्मत कार्की नेतृत्वको सरकारमा कांग्रेस २०८१ भदौ २७ मा सहभागी भएको थियो ।
कोशी सरकारमा कांग्रेस सामेल हुँदैगर्दा नै कोशीमा मुख्यमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार कोशीको मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै कांग्रेसले एमालेसामु औपचारिक प्रस्ताव गरेको हो ।
सोही वर्षको असार १५ मा शेरबहादुर देउवा र ओलीबीच बालकोटमा भएको बहुचर्चित ‘दही चिउरा भेट’ पछि सात बुँदे सहमति भएको थियो । त्यही सहमतिले संघदेखि प्रदशेसम्मै कांग्रेस–एमाले सत्ता सहयात्रा सुरू भएको थियो ।
गएको भदौमा जेनजी आन्दोलनले ओली नेतृत्वमा रहेको संघीय सरकार ढलेपछि फागुन २१ मा निर्वाचन भयो ।
निर्वाचनपछि रास्वपा झण्डै दुई तिहाई शक्तिसहित सत्तारूढ बन्दा प्रदेशहरूमा भने अझै पनि कांग्रेस–एमालेकै सरकार छन् । प्रदेशको नयाँ निर्वाचन नभएकाले यी दुई दलबीचको सत्ता सहयात्रा अहिले पनि जारी छ । यही सहयात्राका बीच दुई दलबीच प्रदेशहरूको मुख्यमन्त्री फेर्नेबारे छलफल लगातार जसो चलिरहेको छ ।
कांग्रेस कोशीका नेताहरू भर्खरै छलफल सुरू भएकाले यसबारे खुलेर बोल्न नमिल्ने बताउँछन् । यद्यपि पार्टीले केन्द्रमा प्रस्ताव अघि सारिसकेको उनीहरूको भनाइ छ ।
‘हामी कोशी सरकारमा सहभागी हुँदै गर्दा मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको थियो, त्यही भद्र सहमति अनुसार यो छलफल अघि बढेको जानकारी आएको छ,’ कांग्रेस कोशी संसदीय दलका एक पदाधिकारीले बुधबार उद्घोषसँग भने ‘अहिलेसम्म अहिलेकै दलका नेतालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने कुरा भएको बुझिन्छ ।’
यसअघि दुईपटक छोटो समयका लागि मुख्यमन्त्री बनेका थापाले पार्टीको विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको समितिलाई नै स्वीकार गरेर अघि बढिरहेका छन् ।
मंगलबार कृष्णप्रसाद सिटौलासहितका नेताहरूले विराटनगरमा भेला गर्दा थापा र उनी निकट सांसदहरू अनुपस्थित रहेका थिए ।
कांग्रेस प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता थापा अहिले काठमाडौंमा छन् ।
उनले बुधबार उपसभापति शर्मा र पार्टी सभापति गगन थापासँग भेट गरेर छलफलसमेत गरेका छन् । त्यसक्रममा थापाले आफू पार्टीको आधिकारिक लाइनभन्दा बाहिर नजाने भन्दै प्रतिबद्धता प्रकट गरेका छन् ।
उपसभापति शर्माकै गृहजिल्ला झापाका नेता थापालाई मुख्यमन्त्री बनाएर अघि बढ्नुपर्ने पक्षमा शर्मा उभिएपछि थापाको सम्भावना बढेको छ ।
‘सिटौलाको साथ छाडेर उहाँले गगन–विश्वलाई साथ दिनुको एउटा मुख्य रणनीतिक कारण पनि कोशीको मुख्यमन्त्री नै हो,’ कांग्रेस प्रदेशका एक नेताले भने ‘त्यसैले अब कांग्रेसले अघि सार्दा थापालाई नै अघि सार्ने सम्भावना धेरै छ ।’
कांग्रेसको कोशी प्रदेश संसदीय दलमा नयाँ बजेट प्रस्तुत हुनुअघि नै मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने माग तीव्र छ । कांग्रेस केन्द्रले प्रदेश सरकारहरूको समीक्षा गर्न उपसभापति शर्मालाई जिम्मेवारी दिएको छ । शर्माले एमालेसँगको संवादलाई गति दिएका छन् ।
कांग्रेस प्रदेश संसदीय दलका एक पदाधिकारीका अनुसार पार्टीभित्र ‘बजेटअघि नै आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्छ’ भन्ने मत बलियो बनेको छ ।
कोशीमा केही समय अघि मात्रै कांग्रेसका मन्त्रीहरू फेरिएका थिए । दलहरूबीच कुनै पनि प्रदेशमा एकल बहुमत नभएकाले दुई वा त्यो भन्दा बढी दलबीच सहकार्य अनिवार्य छ ।
विगतमा समझदारी गर्दा बाँकी कार्यकाल आधा–आधा समय मुख्यमन्त्री लिने सहमति भएको थियो । २०७९ को प्रदेशसभा चुनावपछि अब प्रदेशको कार्यकाल एक वर्षमात्र बाँकी छ ।
View : 313
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved