विराटनगर । विराटनगर महानगरपालिका– २ स्थित जनता नमूना माध्यमिक विद्यालयलाई सोही विद्यालयबाट एसएलसी परीक्षा दिएका पूर्व विद्यार्थीहरूको समुहले ३१ थान सिलिङ पंखा सहयोग गरेका छन् ।
मंगलबार विद्यालय पुगेर उनीहरूले सिलिङ पंखासहित फोहोर फाल्ने ९ वटा डस्टबिन र दुई हजार लिटरको एक थान पानी ट्याङ्की विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
उक्त ब्याचबाट एसएलसी दिने कोशी प्रदेश सभाका सदस्य भीम पराजुलीसहितको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज विक्रम शाह र प्रधानाध्यापक ईश्वर घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा पूर्व विद्यार्थीहरू कौशर खान, शैलेन्द्र श्रेष्ठ, शकुन्तला भट्टराई, राजेन्द्र पराजुली लगायतले विद्यालयलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
उक्त विद्यालयबाट २०४६ सालको ब्याचमा रहेका १६५ जना पूर्व विद्यार्थीहरू रहेका थिए । उनीहरूको समुहले सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट सल्लाह गरेर विद्यालयलाई आवश्यक सामग्रीहरू सहयोग स्वरुप हस्तान्तरण गरेको पूर्व विद्यार्थी सकुन्तला भट्टराईले जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहले जनता नमूना विद्यालयलाई अझ व्यवस्थित बनाउँदै अघि बढाउनका लागि सोही विद्यालयमा पढेका विद्यार्थीहरूबाट प्राप्त सहयोगलाई पूर्ण रुपमा सदुपयोग गरिने बताए । विद्यालयको कक्षा कोठामा पंखा नहुँदा गर्मीको समयमा विद्यार्थीहरूलाई पठनपाठनमा निकै सकस हुने गरेको उनले बताए ।
एक समयमा राजनीतिक खिचातानीको सिकार भएर शैक्षिक गतिविधि नै अस्तव्यस्त भएको उक्त विद्यालयमा दुई बर्षयता भने शैक्षिक सुधारका काम अघि बढेका छन् । सुधारकै कारण हाल विद्यालयमा चार सय बढि विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।
View : 230
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved