Biratnagar, Morang, Nepal
२७ फागुन २०८२, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा कसरी उदाए हर्क साम्पाङ ?

राजनीतिक विश्लेषकहरूका अनुसार हर्क साम्पाङको उदय केवल एक व्यक्तिको लोकप्रियता मात्र होइन, बदलिदो जनमत, पहिचानको मुद्दा र परम्परागत दलहरूप्रतिको असन्तोषको परिणाम पनि हो । कोशी प्रदेशमा श्रम संस्कृति पार्टीको उदयले पुराना दलहरूको राजनीतिक आधारमा गम्भीर चुनौती खडा गरेको छ ।
उद्‌घोष संवाददाता
२७ फागुन २०८२, बुधवार

विराटनगर । भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट कोशी प्रदेशमा एउटा बलियो राजनीतिक शक्तिको रुपमा हर्क साम्पाङ र उनको श्रम संस्कृति पार्टीको उदय भएको छ ।

चार महिनाअघि मात्रै स्थापना भएको यो पार्टीले छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति दर्ज गराएको छ । 

पहिलो प्रयासमै कोशी प्रदेशका २८ सिटमध्ये तीन सिट जित्नु र समानुपातिकतर्फ झण्डैझण्डै दोस्रो हुनुले यो पार्टीको बलियो उपस्थिति देखाएको हो । 

धरानको मेयर पदबाट राजीनामा दिएर चुनाव लडेका साम्पाङ आफैले पनि सुनसरी क्षेत्र नं. १ बाट फराकिलो मतान्तरले जितेका छन् । 

जबकि अघिल्लो निर्वाचनमा ३ सिट जितेको माओवादी अहिलेको निर्वाचनमा शुन्य भएको छ । अघिल्लो पटक १३ सिट जितेको एमाले ४ सिटमा खुम्चिएको छ । 

कांग्रेस पनि ९ बाट झरेर ४ सिटमा सीमित भएको छ । २०८२ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले कोशी प्रदेशमा १७ सिट जितेको छ । 

यो पार्टीले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा उल्लेखीय जित हासिल गरेको छ । 

राजनीतिक विश्लेषकहरूका अनुसार हर्क साम्पाङको उदय केवल एक व्यक्तिको लोकप्रियता मात्र होइन, बदलिदो जनमत, पहिचानको मुद्दा र परम्परागत दलहरूप्रतिको असन्तोषको परिणाम पनि हो । कोशी प्रदेशमा श्रम संस्कृति पार्टीको उदयले पुराना दलहरूको राजनीतिक आधारमा गम्भीर चुनौती खडा गरेको छ ।

हर्क साम्पाङ सुनसरीको धरान क्षेत्रमा सामाजिक अभियानमा सक्रिय व्यक्ति हुन् । 

औपचारिक रूपमा राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभन्दा धेरै अघि नै उनी स्थानीय स्तरमा सामाजिक मुद्दा उठाउने, जनताको समस्या सार्वजनिक गर्ने र स्थानीय विकासका विषयमा आवाज उठाउने अभियानमा लागिरहेका थिए ।

उनको राजनीतिक यात्रा मूलतः आन्दोलन र जनसरोकारका अभियानबाट सुरु भएको हो । 

विभिन्न सामाजिक विषयमा सक्रियता देखाउँदै उनले बिस्तारै जनतामाझ एक फरक प्रकारको नेताको छवि निर्माण गरे । 

साधारण जीवनशैली अपनाउने, स्पष्ट रूपमा बोल्ने र परम्परागत राजनीतिक शैलीलाई चुनौती दिने नेताका रुपमा साम्पाङ जनमानसमा चिनिन थाले । उनको यो शैली सुरुमा सीमित क्षेत्रमै चर्चित भए पनि समयसँगै व्यापक जनचासोको विषय बन्न थाल्यो ।

साम्पाङको लोकप्रियता सबैभन्दा बढी बढेको समय भनेको धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि हो । 

स्थानीय सरकारको नेतृत्व सम्हालेपछि उनले परम्परागत प्रशासनिक शैलीभन्दा फरक तरिकाले काम गर्ने प्रयास गरे ।

विशेषगरी धरानको दीर्घकालीन खानेपानी समस्यालाई समाधान गर्न उनले सञ्चालन गरेको श्रमदान अभियान व्यापक चर्चामा आयो । हजारौं नागरिकलाई स्वेच्छिक रूपमा श्रमदानमा सहभागी गराउँदै पानीको स्रोत संरक्षण र पाइपलाइन विस्तारका काम गरिएको थियो ।

उनको अभियानले दुईवटा सन्देश स्पष्ट रुपमा दियो । पहिलो, विकासका काममा जनताको प्रत्यक्ष सहभागिता सम्भव छ । दोस्रो, राजनीतिक नेतृत्वले उदाहरण प्रस्तुत गर्न सके जनताले साथ दिन्छन् ।

यही अभियानले हर्क साम्पाङलाई काम गरेर देखाउने नेताको छवि दिलायो । 

नेपालको राजनीतिमा प्रायः नारा, विचारधारा र चुनावी घोषणापत्रका कुरा धेरै हुन्छन् । तर श्रमलाई नै मुख्य राजनीतिक एजेन्डा बनाउने प्रयास भने विरलै देखिएको छ ।

साम्पाङले यही ठाउँमा नयाँ प्रयोग गरे । उनले ‘श्रम संस्कृति’को अवधारणा अघि सारे । उनले पार्टीको नाम नै श्रम संस्कृति राखे । 

उनको विचारमा विकास केवल बजेट र सरकारी योजनाले मात्र सम्भव हुँदैन, नागरिकको सहभागिता र श्रम संस्कार आवश्यक हुन्छ । यस अवधारणाले विशेषगरी युवापुस्तामा सकारात्मक प्रभाव पारेको देखिन्छ । 

सामाजिक सञ्जालमार्फत श्रमदान अभियानको प्रचार–प्रसार गर्दै उनले धेरै युवालाई अभियानमा जोड्न सफल भए ।

हर्क साम्पाङको अर्को विशेषता भनेको उनको सांगठनिक कार्यशैली हो । 

राजनीतिक रूपमा उनी परम्परागत कम्युनिष्ट पार्टीसँग प्रत्यक्ष रूपमा जोडिएका नभए पनि संगठन निर्माणमा उनले अपनाएको शैली कम्युनिष्ट आन्दोलनसँग मिल्दोजुल्दो देखिन्छ ।

स्थानीय तहदेखि वडा स्तरसम्म समर्थकहरूको सञ्जाल बनाउने, नियमित बैठक तथा अभियान सञ्चालन गर्ने र स्वयंसेवकलाई सक्रिय राख्ने अभ्यास उनले सुरु गरेका छन् । 

चार महिनामै पार्टी स्थापना भएर पनि छोटो समयमै विभिन्न जिल्लामा संगठन विस्तार हुनुको एउटा कारण यही संरचना हो । उनको यही शैलीमा उनलाई विगतमा कम्युनिष्ट बहुल क्षेत्र भनिएका स्थानमा सर्लक्कै संगठन निर्माण गर्न सहज भयो ।

यस्तै, कोशी प्रदेशको सामाजिक संरचना बहुलतापूर्ण छ । यहाँ राई, लिम्बुलगायत विभिन्न जनजाति समुदायको उल्लेखनीय उपस्थिति छ । 

प्रदेशको नामकरण र पहिचानको बहसले लामो समयदेखि राजनीतिक विवाद सिर्जना गरेको सन्दर्भमा असन्तुष्ट समुदायका लागि श्रम संस्कृति पार्टी एउटा नयाँ गन्तब्य र भरोसाको पार्टी पनि बन्न पुगेको छ ।

खासगरी प्रदेश नामकरण र पहिचानका मुद्दामा असन्तुष्ट भएका केही समूहहरू नयाँ राजनीतिक विकल्प खोजिरहेका थिए । विश्लेषकहरूका अनुसार त्यस्ता समूहहरू हर्क साम्पाङको श्रम संस्कृति पार्टीतर्फ आकर्षित भएका छन् ।

साम्पाङले पनि पहिचान, आत्मसम्मान र स्थानीय अधिकारको सवालमा स्पष्ट रूपमा बोल्ने शैली अपनाएका छन् । यसले उनलाई विशेषगरी जनजाति समुदायबीच लोकप्रिय बनाएको छ ।

कोशी प्रदेशमा लामो समयदेखि एमाले, कांग्रेस र माओवादी केन्द्र प्रमुख राजनीतिक शक्तिका रूपमा रहँदै आएका थिए । तर पछिल्ला वर्षहरूमा ती दलहरूप्रति जनतामा असन्तोष बढ्दै गएको देखिन्छ ।

भ्रष्टाचार, गुटबन्दी, विकासमा सुस्तता र नेतृत्वको पुनरावृत्तिका कारण मतदाताले नया“ विकल्प खोज्न थालेका थिए । यही परिस्थितिमा हर्क साम्पाङको पार्टीले ठाउँ पायो । 

विशेषगरी विगतमा एमाले वा माओवादी बलियो रहेको क्षेत्रहरूमा श्रम संस्कृति पार्टीको उल्लेखनीय मत देखिएको छ । 

साम्पाङको अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक सञ्जालको प्रयोग पनि हो । 

उनले फेसबुक, युट्युब लगायतका माध्यमबाट आफ्ना विचार, गतिविधि र अभियान प्रत्यक्ष रूपमा सार्वजनिक गर्ने गरेका छन् । 

अहिलेका युवापुस्ता परम्परागत राजनीतिक भाषणभन्दा फरक, सरल र प्रत्यक्ष शैलीको सम्वाद रुचाउँछन् । जुन शैली साम्पाङले अपनाएका छन् । 

यदि यही गतिमा साम्पाङले संगठन विस्तार र जनसमर्थन प्राप्त गरिरहे भने आगामी कोशी प्रदेश सभा निर्वाचनमा उनको पार्टीले उल्लेखनीय सिट जित्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । 

कोशी प्रदेश सभामा सरकार बनाउनका लागि आवश्यक बहुमत कुनै एक दलले प्राप्त गर्न नसके पनि श्रम संस्कृति पार्टी भने निर्णायक शक्ति बन्न सक्ने अहिलेको निर्वाचनले छनक देखाइसकेको छ । 

सामाजिक अभियान, श्रमदान संस्कृति, वैकल्पिक राजनीतिक शैली र संगठनात्मक सक्रियताको संयोजनले उनी र उनको श्रम संस्कृति पार्टी कोशी प्रदेशमा शक्तिशाली रूपमा स्थापित भएको छ ।

कोशी प्रदेशको राजनीतिक नक्सामा जबर्जस्त उदाएको हर्क साम्पाङ र उनको श्रम संस्कृति पार्टी अब कति लामो समयसम्म टिक्छ र प्रभावशाली हुन्छ भन्ने कुरा भने आगामी राजनीतिक यात्राले नै तय गर्नेछ । 

तथापि अब डेढ वर्षभित्र नै हुन गइरहेको प्रदेश सभा निर्वाचनसम्म श्रम संस्कृति पार्टीको सामथ्र्य अझै बढ्न सक्ने देखिएको छ । 

साम्पाङ आफैले ‘समय पाएको भए अहिले नै चमात्कार हुने थियो’ भनेका छन् । अबको डेढ वर्ष अहिलेको शक्ति र सामर्थ्यलाई उनले पक्कै पनि विस्तार गर्ने छन् । उनले यसको संकेत पनि देखाएका छन् । 

जसका आधारमा आगामी प्रदेश सभाको निर्वाचनसम्म उनको पार्टी सरकारको नेतृत्व गर्ने हैसियतमा पुग्न सक्छ भन्दा अन्यथा नहुने विश्लेषकहरू बताउँछन् ।

View : 41

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved