मौसमको ‘रेड सिग्नल’
सांकेतिक तस्वीर ।
विराटनगर । प्रि–मनसुन सुरु हुने बित्तिकै कोशी प्रदेशमा यसले मौसमी असर देखाउन थालेको छ । केही दिनअघि धनकुटासहितका जिल्लाहरुमा ठूलो क्षति गराउने गरी हावाहुरी चलेको थियो ।
शनिबार कोशी प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना उच्च भएको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन आग्रह गरेको छ ।
मौसमविद्हरूका अनुसार प्रि–मनसुन अवधि मनसुन आगमनको पूर्वसंकेतका रूपमा लिइन्छ । यस समयमा गर्मी बढ्दै जाने, साँझपख अचानक बादल लागेर पानी पर्ने, हावाहुरी चल्ने तथा
चट्याङ पर्ने सम्भावना उच्च रहन्छ । विशेषगरी तराई र पहाडी क्षेत्रहरूमा यसको प्रभाव बढी देखिन्छ । यही बेला असिना पर्ने सम्भावना पनि उच्च रहन्छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार जारी गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार पश्चिमबाट भित्रिदै गरेको वर्षा प्रणाली क्रमशः पूर्वतर्फ सर्दै जाने क्रममा बिहीबार रातिदेखि नै सुरु भएको छ ।
यो प्रणाली क्रमशः पूर्वतिर सर्दै आउँदा कोशी प्रदेशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
प्राधिकरण र जल तथा मौस विज्ञान विभागका अनुसार कोशी प्रदेशका विराटनगर, सुनसरीका धरानसहितका क्षेत्र, धनकुटा आसपासका जिल्लामा शनिबार तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान छ ।
हावाको गति प्रतिघण्टा झन्डै ११९ किलोमिटरसम्म पुग्न सक्ने भएकाले जनजीवन प्रभावित हुन सक्ने देखिएको छ । यसअघि पश्चिमी भूभागबाट सुरु हुने प्रणाली मध्य क्षेत्र हुँदै कोशी प्रदेशमा प्रवेश गर्ने मौसमविद्ले बताएका छन् ।
मौसम प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा हुने सम्भावना छ ।
यद्यपि भारी वर्षा तथा हिमपातको जोखिम भने मुख्यतः कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी रहने अनुमान गरिएको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
पछिल्ला दिनहरूमा मधेस बाहेकका क्षेत्रमा छिटफुट वर्षा हुँदै आएको छ । अब भित्रिने नयाँ प्रणालीले देशका अधिकांश भूभागमा मौसम बदली गराउने देखिएको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् शान्ति कडेँलले जानकारी दिइन् । यसको प्रभाव शुक्रबार र शनिबार देशव्यापी रूपमा रहने र शनिबार रातिबाट क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ ।
कोशी प्रदेशसँगै लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि शुक्रबारदेखि हावाहुरीको जोखिम रहने बताइएको छ । दाङ र नेपालगञ्ज आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान छ ।
यस्तो अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार प्रि–मनसुन अवधिमा चल्ने हावाहुरीका कारण रुख ढल्ने, घरका छाना उड्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत र सञ्चार सेवा अवरुद्ध हुने जोखिम उच्च हुन्छ ।
सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, हावाहुरी चलेका बेला सुरक्षित स्थानमा बस्न, झ्यालढोका राम्रोसँग बन्द गर्न तथा सवारी साधन चलाइरहेका भए रोकेर सुरक्षित ठाउँमा बस्न सुझाव दिइएको छ ।
साथै, अग्ला रुख, बिजुलीका खम्बा तथा तार नजिक नबस्न र लत्रिएका तार नछुन पनि अनुरोध गरिएको छ ।
सरकारी निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सजग रहन र आवश्यक सतर्कता अपनाउन सबैलाई आह्वान गरेका छन् ।
हावाको गति ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ । यो हावाहुरी तीव्र आँधीको स्तर हो ।
सामान्य पक्की घरहरू प्रायः सुरक्षित रहने भए पनि छाना र झ्यालमा हल्का वा मध्यम क्षति हुन सक्ने खतरा रहने मौसमविद्को भनाइ छ ।
पुरानो वा कमजोर संरचनाको घरमा भने छाना उड्ने, भित्तामा दरार आउने र अन्य क्षति हुने सम्भावना बढी हुन्छ ।
यस्तो अवस्थामा सवारी साधनमा यात्रा गर्नु, मोटरसाइकल वा साना गाडी चलाउन अत्यन्त जोखिमपूर्ण हुने विज्ञहरुको भनाइ छ ।
घर बाहिरका अग्ला रुख, बिजुली पोल, वा उड्ने सामानको नजिक नबस्न पनि उनीहरूको सुझाव छ ।
View : 178
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved