Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

नगर प्रहरीलाई तालिम दिंदै इटहरी उपमहानगर

उद्‌घोष सम्वाददाता
१२ मंसिर २०८०, मङ्गलवार

सुनसरी : इटहरी उपमहानगरपालिकाले नगर प्रहरी नियुक्त गरी तालिम दिन सुरु गरेको छ । उपमहानगरले एक बर्षअघि नै नगर प्रहरी भर्ना खोले पनि ऐन निर्माण गर्न ढिलाइ भएपछि तालिम सुरु गर्न सकेको थिएन । ३५ दिनसम्म चल्ने पहिलो चरणको आवासीय तालिममा सहभागी प्रशिक्षार्थीलाई इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी अधिकृतहरुले प्रशिक्षण दिने छन् ।

उनीहरुलाई सैद्धान्तिक र ब्यवहारिक सीप सिकाई नगरक्षेत्रमा परिचालन गरिने नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । यस्तै तालिमको पहिलो चरणमै नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाइने छ ।

नगर प्रहरी कार्य र भीड व्यवस्थापन र स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण गराइने बताइएको छ । तालिम उद्घाटन समारोहमा उपमहानगर प्रमुख  पौडेलले नगर प्रहरी थपिदा उपमहानगरको सुरक्षा मजबुत हुने बताए । सडक अतिक्रमण गरेर सडकमा राखेको निर्माण सामग्रीदेखि बजार व्यवस्थापनसम्ममा नगर प्रहरी खटाइने पौडेलले बताए ।

इटहरी उपमहानगरको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रापर्वको सुरक्षा व्यवस्थापन, पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापनको अधिकार दिइने पौडेलको भनाई छ ।

तालिम पूरा गरेपछि नगर प्रहरीलाई नेपाल प्रहरीको आदेश अनुसार भिड नियन्त्रणमा समेत परिचालन गरिने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । तालिममा नगर प्रहरीका प्रहरी निरीक्षक, सहायक निरीक्षक, हवल्दार र प्रहरी जवान गरी कूल ३६ जना नगर प्रहरीको सहभागिता छ ।

View : 166

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved