Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

आजदेखि तेस्रो विराटकप फुटबल

उद्घोष सम्वाददाता
२८ जेठ २०८१, सोमवार

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) नेपाल विराटनगर समितिको आयोजनामा सोमबारदेखि तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट सुरु हुने भएको छ । यसै वर्ष एसइई दिएका विद्यार्थीहरूले समेत सहभागिता जनाउन सक्ने गरी फुटबल टुर्नामेन्ट आयोजना गर्न लागिएको टुर्नामेन्टका संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

विराटनगरस्थित सहिद मैदानमा हुने प्रतियोगितामा प्याब्सन आवद्ध २४ वटा विद्यालयका खेलाडीहरूले प्रतिष्पर्धा गर्ने जनाइएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

विजेता स्कुलले नगद २५ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले बताए । उनले प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ खर्च हुने जानकारी दिए । अध्यक्ष बुढाथोकीले यस वर्षदेखि कक्षा १० (एसइई) को परीक्षा दिएका विद्यार्थीहरू समेत खेलाडीका रुपमा सहभागी हुने बताए ।

प्रतियोगिता खेल्ने २४ वटा विद्यालयको खेल तालिका आइतबार नै गोलाप्रथाबाट तयार पारिएको जनाइएको छ । प्याब्सन विराटनगरका सचिव अशोक लामाले विद्यालय स्तरबाटै फुटबल खेलको विकास गर्न प्रतियोगिता महत्वपूर्ण हुने बताए । 

प्रतियोगिताको सह–आयोजकका रुपमा प्रदेश खेलकुद विकास बोर्ड र विराटनगर महानगरपालिका रहेको जनाइएको छ । प्रतियोगितामा आठ वटा विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरूलाई समेत प्रोत्साहन पुरस्कार प्रदान गरिने जनाइएको छ ।

View : 89

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved