Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सडकका ठेकेदारलाई कस्दै प्रदेश सरकार

सुनसरीका दुईटा सडकको काम मंसिरबाट नथाले कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने भौतिक मन्त्रालयको चेतावनी
उद्‌घोष सम्वाददाता
११ कार्तिक २०८१, आइतवार

सडकमै बसेर स्थानीयको कुरा सुन्दै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई । तस्वीर : उद्घोष

धरान । सुनसरी धरान–४ को वडा कार्यालय परिसरमा शनिबार लहरै कुर्सी मिलाएर राखिएका थिए । विराटनगरबाट भौतिक पूर्वाधार मन्त्रालयको सिंगो टोली सडक अनुगमनमा धरान आउने भएपछि मन्त्री तथा राज्यमन्त्रीहरूको स्वागतको तयारी वडा परिसरमा गरिएको थियो । तर, त्यहाँ पुग्नासाथ भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले भने ‘पहिला अलपत्र सडक हेरौं, कार्यक्रम पनि उतै गरौं ।’

मन्त्रीको कुरा सुनेपछि सडकका कर्मचारीहरू अन्कनाए । त्यता कुर्सीहरूको व्यवस्थापन छैन भन्दै उनीहरूले टाउको कन्याएपछि मन्त्रीले सजिलो पारिदिए ‘स्थानीयवासीको कुरा भूइँमै बसेर सुनौंला । जाउँ उतै ।’ गाउँको अलपत्र सडकको दुरावस्थाबारे मन्त्रीलाई गुनासो सुनाउन आएका गाउँले खुसी भए । उनीहरूले पनि सडक हेरौं भन्दै उतै जान आग्रह गरे । 

धरान–१५ स्थित निराजन बस्तीबाट धरान–४ को कन्यापोखरीसम्म जोड्ने १६ दशमलव ८७ किलोमिटर लामो सडक सम्झौताअनुसार २०७८ को असोज १५ मै निर्माण कार्य पूरा भइसक्नुपर्ने थियो । तर, हालसम्म तेस्रोपटक म्याद भइसक्दा पनि अलपत्र नै रहेको सडक लुम्बिनी गजुरमुखी जेभीले २०७६ असोज १५ मा सम्झौता गरेर जिम्मा लिएको थियो । 

दुई वर्षमा निर्माण सकिने भनेको सडक ५ वर्ष बित्दा पनि नबनेपछि मन्त्रीसहितको टोली शनिबार निर्माण पक्षलाई साथैमा लिएर निर्माणस्थल पुगेको थियो ।

सडकबारे आफ्ना गुनासा राख्न मन्त्रालयको टोलीले आग्रह गरेपछि उपस्थित सर्वसाधारणले अनेकौं प्रश्न गरे । ठेकेदार कम्पनीले लापरबाही गरेकोदेखि सरकारी निकायले गरेको कमजोरीसम्मको स्थानीयबासीले आलोचना गरे ।

निर्माण पक्षका प्रतिनिधि सन्तोष गौतमले अहिलेसम्म ‘पेटी ठेकेदारलाई जिम्मा दिंदा कमजोरी भएको तर तिहारपछि आफै काम गर्ने’ वचन दिए । उनको भनाइ गाउँलेले पत्याएनन् । त्यसपछि भौतिक पूर्वाधार मन्त्री राई, राज्यमन्त्री भूमिप्रसाद राजवंशीले कार्यक्रमस्थलमै निर्माण कम्पनीसँग अर्को सम्झौताको घोषणा गरे ।

‘अहिलेसम्म जे भयो, त्यसलाई छोडौं’, गाउँलेका माझमा मन्त्री राईले निर्माण पक्षलाई चुनौती मिश्रित आग्रह गरे ‘तपाई यो काम कहिले थाल्ने मितिसहित भन्नुस् । गर्न नसक्ने हो भने प्रदेश सरकारले तपाईको कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोड्नेछ । के गर्नुहुन्छ ?’ जवाफमा ठेकेदार गौतमले ‘कात्तिक २८ देखि काम थाल्ने’ वचन दिए । 

तर, मन्त्री राईले उनलाई दुई दिन बढी समय थपिदिदै भने ‘ल, तपाईलाई दुई दिन समय थप भयो, मंसिर १ देखि काम थाल्नुस् । मंसिर १ मा यहाँ काम सुरु भएको जानकारी स्थानीय तहका जनप्रतिनिधिले मलाई दिनुहुनेछ । म आफै आउनेछु । होइन, त्यो दिन काम सुरु भएन भने तपाँईको कम्पनी कालोसूचीमा चढ्नेछ । ठेक्का तोडिनेछ ।’ मन्त्रीको यस्तो घोषणालाई गाउँलेले तालीले स्वागत गरे । 

३९ करोड २३ लाख ४१ हजार १ सय ६३ रुपैयाँ लागतमा बन्ने भनिएको सडकमा लगभग २२ करोड भुक्तानी भइसकेको छ । यो सडकले धरानको निराजन बस्तीबाट देवीगाउँ, पत्राङबारी, श्रीगाउँ, हर्दिया, दानाबारी हुँदै कन्यापोखरी जोड्छ ।

तर, तीन पटक म्याद थप भइसक्दा पनि सडकको तीन किलोमिटरबाहेक अरु बाँकी भाग नबनेका कारण धरान–४ का विभिन्न बस्तीका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

‘मन्त्रालयमा बसेर होइन, रुग्ण अवस्थाको सडक निर्माण पक्षले बनाउने हो कि ठेक्का तोड्ने भन्ने निर्णय उपभोक्ताकै अघि ‘अन द स्पट’ निक्र्यौल गर्न आज हामी यहा आएका हौं’, मन्त्री राईले भने ‘मंसिर १ मा यो सडक निर्माण सुरु नभए निर्माण कम्पनीलाई कारवाही गरिनेछ । यही निर्णय आज मन्त्रीस्तरबाट अन द स्पट गरिएको हो ।’ 

यस्तै निर्णय बराहक्षेत्रको बाङ्गेबाट हल्दिया, कालाबन्जर, भलुवा चौरी हुँदै धरान जोड्ने सडकमा पनि भएको छ । कालाबन्जर चोकैमा सर्वसाधारणको उपस्थितिमा धरानमा जस्तै गरी गुनासो सुनेपछि मन्त्री राईले निर्माण कम्पनी लुम्बिनी गजुरमुखी जेभीका  सञ्चालक गौतमलाई सोधे ‘यहाँ चाहिँ कालोपत्रे गर्ने काम र जंगल क्षेत्रमा सडक बनाउने काम बाकी रहेछ । 

कहिलेबाट थाल्नुहुन्छ ?’ गौतमले मंसिर ५ को मिति मागे । मन्त्री राईले मंसिर १० सम्मको समय दिए । र, भने ‘यहाँ मंसिर १० बाट काम थालेर वैशाख अन्तिममा सक्नुभएन भने तपाईको कम्पनीलाई कारबाही गरिनेछ । ठेक्का तोडिनेछ ।’ 

३७ करोड २३ लाखको लागतमा निर्माण हुने भनिएको सडक २०७८ असोज १५ मा बनिसक्नुपर्ने थियो । २०७६ भदौ १२ मा सम्झौता भएको सडक दुई पटक म्याद थप भइसकेको यो सडक साढे १३ किलोमिटर लामो छ । 

पाँच वर्षभन्दा बढी समयदेखि अलपत्र रहेका सुनसरी जिल्लाका यी दुई वटा सडक निर्माणको काम मंसिरबाट सुचारु हुने वचन निर्माण कम्पनीले दिएपछि प्रदेश सरकारले काम नभए ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । निर्माण पक्षले निर्धारित समयमै काम सक्ने बताएको छ ।

View : 127

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved