Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

कुटीडाँडामा एमफिल शोधार्थीको प्राज्ञिक मन्थन सम्पन्न

उद्‌घोष संवाददाता
२६ माघ २०८२, सोमवार

इलाम । पूर्वाञ्चल विश्वविद्यालय, व्यवस्थापन संकाय (पुफोम) को आयोजनामा दर्शनाचार्य (एमफिल) र विद्यावारिधि (पिएचडी) कार्यक्रम अन्तर्गत एमफिल तेस्रो सेमेष्टरका विद्यार्थीहरूका लागि आयोजित दुईदिने ‘अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ।

इलामको मनोरम पर्यटकीय स्थल कुटीडाँडामा आयोजित उक्त कार्यक्रममा शोधार्थीहरूलाई अनुसन्धानका आधुनिक विधि र प्राज्ञिक लेखनका बारेमा सघन प्रशिक्षण दिइएको थियो।

अनुसन्धानको गुणस्तरमा जोड

उच्च शिक्षाको शोध कार्यलाई गुणस्तरीय र समयसापेक्ष बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा एमफिल तेस्रो सेमेष्टरका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा कविता पौडेल, शशांक पोखरेल, रमेश अधिकारी, अनुज दाहाल, सुमित्रा खतिवडा, देवीप्रसाद कोइराला र पूजा गुप्ता सहभागी  थिए ।

विश्वविद्यालयको विद्यावारिधि तथा दर्शनाचार्य कार्यक्रमका निर्देशक प्रा.डा. जीवनकुमार ढकालको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा विज्ञद्वय प्रा.डा. प्रेमराज पन्त र प्रा.डा. माधवराज कोइरालाले सहजीकरण गरेका थिए । प्रशिक्षकहरूले शोधपत्र लेखनको प्रक्रिया, तथ्याङ्क विश्लेषण र प्राज्ञिक मर्यादाका विविध आयामबारे प्रकाश पारेका थिए ।

सहभागीको प्रतिक्रिया "फलदायी अनुभव"

कक्षाकोठाभन्दा बाहिरको शान्त र प्राकृतिक वातावरणमा गरिएको यो अभ्यास निकै फलदायी रहेको सहभागीहरूले बताएका छन्। सहभागी कविता पौडेलका अनुसार कुटीडाँडाको प्राकृतिक वातावरणले शोध कार्यप्रति नयाँ ऊर्जा र स्पष्टता थपेको छ।

त्यस्तै, अर्का शोधार्थी शशांक पोखरेलले कार्यक्रमबारे उत्साह व्यक्त गर्दै भने, "इलाममा आयोजित थिमेटिक प्रिजेन्टेशन र सेमिनार सफलतापूर्वक सम्पन्न भयो। यहाँका अर्थपूर्ण छलफल र गहन अन्तरक्रियाले निकै फलदायी अनुभव प्रदान गरेको छ।"

पूर्वाञ्चल विश्वविद्यालय, व्यवस्थापन संकायले शोधार्थीहरूलाई अनुसन्धानका व्यावहारिक पक्षहरूमा दख्खल बनाउन यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ।

View : 544

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved