Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

गुप्तबराहको जिर्णोद्धार अन्तिम चरणमा

उद्‌घोष संवाददाता
३१ असार २०८२, मङ्गलवार

चतरा । सुनसरीको बराहक्षेत्रधामस्थित धार्मिक आस्थासँग जोडिएको गुप्तबराह ओडारको जीर्णोद्धारको काम मध्य चरणमा पुगेको छ । भगवान बिष्णुले आफ्ना सेवकलाई प्रत्यक्ष दर्शन दिएको विश्वास गरिने ओढारसम्म पुग्न हालसम्म ४ सय ६१ वटा सिंढीहरुको निर्माण गरिएको छ । 

धर्तीको पहिलो तीर्थस्थल मानिने सुनसरीको प्राचीन बराहक्षेत्रधाम मन्दिर भन्दा केही वरै छ गुप्तबराह । वराहक्षेत्र मन्दिर पुग्नुभन्दा डेढ किलोमिटर दक्षिण बाटो किनारबाट सिंढी हुँदै ओरालो झरेपछि झण्डै ५ फिट लम्बाई–चौडाईको गुप्तवराह ओडारसम्म पुग्न सकिन्छ । सप्तकोशी किनारमा रहेको यसै ओडारमा भगवान बिष्णुले औलिया बाबालाई साक्षात दर्शन दिएको विश्वास गरिन्छ । 

मानिसहरुलाई औलो ज्वरो आउँदा ती सन्तले रोगीको ज्वरो खिचेर आफू बसेको आसन मुनि थिचेर राख्न सक्ने सामाथ्र्य भएकाले उनलाई स्थानीयले औलिया बाबा भन्ने गरेकोे बताइन्छ । बाबालाई भगवान वराहको प्रथम मानव पुजारीका रुपमा समेत चित्रण गरिन्छ । उनी अघि नारद लगायतका ऋषिले वराह भगवानको पूजा गर्ने गरेको विश्वास गरिन्छ । 

जनश्रुतिअनुसार औलिया बाबा वराह भगवानको पूजा गर्न चतराबाट नियमितरुपमा वराहक्षेत्र पुग्ने गर्थे । एक दिन वराहक्षेत्र पुग्ने क्रममा उनलाई बाटोमै ज्वरोले सिथिल बनायो र छेउमै रहेको ओडारमा पसेर नियमित पूजा छुटेकोमा भगवानको पुकारा गरे । 

बाबाको पुकारा सुनेर भगवान बिष्णु यसै ओडारमा प्रकट भए र बाबाले त्यहीं भगवानको पूजा गरेकोे कीम्बदन्ती रहेको पण्डित योगेश ‘बराहक्षेत्र’ले जानकारी दिए । 

औलिया बाबा सामु भगवान गुप्तरुपमा प्रकट भएकाले यो स्थानलाई गुप्तबराह भनिएको बताइन्छ । ओडार भएको ठाउँ चतराबाट बराहक्षेत्र जाने पुरानो बाटोमा पर्छ । हाल बनेको नयाँ बाटो ओडारभन्दा निकै माथि छ । 

२०२८ सालमा नयाँ बाटो बनेपछि ओझेलमा रहेको यो ओढारसम्म झर्न हाल ४६१ वटा कंक्रिट सिंढीहरुको निर्माण गरिसकिएको गुप्तबराह निर्माण समितिका संयोजक रविकुमार श्रेष्ठले बताए । 

पण्डित योगेश वराहक्षेत्रको नेतृत्वमा हालसम्म २ करोड खर्चिएर ओडारसम्म पुग्न सिंढी लगायतका निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिए ।

यस स्थानलाई बराहक्षेत्रको अर्को धार्मिक आर्कषण स्थलकोरुपमा विकास गर्न गठन गरिएको वराह दर्शन फाउण्डेशनले ओडारको जीणोद्धारका साथै धरणी माताको मन्दिर, प्रेम झुला लगायतका संरचना निर्माण कार्य गर्दैछ । 

हालसम्म प्रदेश सरकारको १४ लाख बाहेक लगानी भएको अन्य सबै रकम भक्तजनबाट संकलन गरिएको पण्डित बराहक्षेत्रले जानकारी दिए । 

सिंढी ढलानको काम सम्पन्न भएपनि रेलिङ र नदीमा झर्ने सिंढी तथा केही मिटर बाटो  निर्माणको काम बाँकी रहेको निर्माण समितिले जनाएको छ । ओडार रहेको सप्तकोशी नदीको पारिपट्टी उदयपुर जिल्ला पर्दछ ।

View : 433

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved