विराटनगर । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि र आपूर्ति समस्याले नेपालको निर्माण क्षेत्र गम्भीर संकटमा परेको छ ।
डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनसँगै बिटुमिन, सिमेन्ट र डण्डी जस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दा निर्माण क्षेत्र समस्यामा परेको निर्माण व्यवसायी महासंघ कोशीले जनाएको छ ।
महासंघले विज्ञप्ति नै जारी गर्दै असामान्य मूल्यवृद्धि र निर्माण सामग्रीको अभाव झेल्नुपरेको उल्लेख गरेको छ । जसका काम समयमा निर्माणको काम सम्पन्न गर्न चुनौती थपिएको महासंघले जनाएको छ ।
महासंघ महासचिव रमेश कार्कीले निर्माण कार्य तीव्र हुने समयमै सामग्रीको मूल्यवृद्धि र अभाव भोग्नुपरेको बताए । जसका कारण निर्माण व्यवसायीहरू अहिले ठूलो आर्थिक दबाबमा परेको उल्लेख गरेका छन् । असामान्य मूल्यबृद्धिले निर्माण क्षेत्र नै धरापमा पर्ने अवस्था सिर्जना गरेको महासचिव कार्कीले बताए ।
विशेषगरी बिटुमिनको आयातमा अन्तर्राष्ट्रियस्तरमै समस्या देखिएको महासंघले जनाएको छ ।
महासंघको कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारीले अहिले नेपालको सडक तथा पूर्वाधार निर्माणमा यो समस्याले प्रत्यक्ष असर पारिरहेको बताए ।
उनले बिटुमिन सडक कालोपत्रे कार्यका लागि अनिवार्य सामग्री भए पनि यसको आपूर्ति अवरुद्ध हुँदा ठुला परियोजनादेखि साना साना काम समेत प्रभावित भइरहेको जानकारी दिए ।
अध्यक्ष भण्डारीले धेरै निर्माण आयोजना ढिलाइ हुने तथा लागत अत्यधिक बढ्ने जोखिम भएको र त्यसको दोष निर्माण व्यवसायीमाथि थोपरिने समस्याप्रति महासंघले चासो व्यक्त गरेको बताए ।
‘निर्माण सामग्रीको आपूर्ति श्रृंखलामा पनि अवरोध भएर सामग्री नै नपाउने अवस्था छ, ढुवानी खर्च त्यतिकै बढेको छ’ उनले भने, ‘यो अन्तर्राष्ट्रिय मूल्यवृद्धिको असर नेपाली निर्माण क्षेत्रमा प्रत्यक्ष परेकोले हामीलाई चिन्ता बढाएको छ ।’
महासंघले यस विषयमा सरकारको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस समाधानको बाटो ननिस्किएको जनाएको छ । विशेषगरी मूल्य समायोजन सम्बन्धी विद्यमान व्यवस्था व्यवसायीहरूका लागि प्रभावकारी नभएको महासंघले चासो राखेको छ ।
विज्ञप्तिमा नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित मूल्य सूचकाङ्कका आधारमा मूल्य समायोजन हुने व्यवस्था रहेपनि बजारमा निर्माण सामग्रीको वास्तविक मूल्यवृद्धि त्यसमा समेटिन नसकेकोले निर्माण व्यवसायीहरू थप समस्यामा परेको उल्लेख छ ।
निर्माण क्षेत्रमा देखिएको समस्या समाधान लागि सरकारले पहल गर्न ढिलाई गरे पुँजीगत खर्चको प्रगति समेत न्यून भई मुलुकको रोजगारी, लगानी र पूर्वाधार विकासमा असामान्य संकुचन आउने र समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिने महासंघले जनाएको छ । यो समस्यालाई केवल निर्माण व्यवसायीको मात्रै समस्याका रुपमा नलिन सरकारसँग आग्रह गरेको छ ।
यस्तो जटिल परिस्थितिमा तत्काल ‘मूल्य समायोजन मार्ग निर्देशिका–२’ जारी गर्न महासंघ कोशी प्रदेश समितिले सरकारसँग माग गरेको हो । साथै सबै अवधिका निर्माण ठेक्काहरूमा मूल्य समायोजनको स्पष्ट व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।
यो संकट समाधान हुन नसके निर्माण उद्योग लामो समयका लागि गहिरो समस्यामा फस्न सक्नेतर्फ आफूहरू सचेत रहेको व्यवसायीहरूले बताए ।
यसैबीच, पेट्रोलियम पदार्थको मूल्यबृद्धि र बिटुमिन अभावको कारण देखाउँदै पूर्व–पश्चिम एसियन हाइवेको कालोपत्रे गर्ने कार्य प्रभावित भएको छ ।
इभ्रास्कन कालिका जेभीका प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईँका अनुसार हाइवेको कालोपत्रे गर्ने कार्य बिटुमिन अभाव बढ्दै जाँदा प्रभावित भएको छ ।
निर्माण कम्पनीसँग हालसम्म भण्डारण भएको बिटुमिनले अधिकतम् १०–१५ दिनका लागि मात्रै धान्ने भन्दै बिटुमिन आयात हुन नसके काम रोकिने चुनौती थपिएको बताए ।
प्रसाईँले यस बर्षको वर्षात सुरु हुनुअघि नै करिब २२ किलोमिटर खण्डमा पहिलो चरणको कालोपत्रे गर्ने कार्य बिटुमिन अभावकै कारण प्रभावित हुन सक्ने बताए ।
त्यस्तै, नेपाल आयल निगमले मूल्यबृद्धि भएको डिजेलमा समेत कोटा प्रणाली लागू गर्दा निर्माण कार्यमा प्रयोग हुने उपकरण पूरा क्षमतामा सञ्चालन गर्न नसक्ने अवस्था बनेको उनले बताए ।
View : 170
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved