Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रंगेली नगरपालिकाका कर्मचारीमाथि कुटपिट, पेशागत महासंघद्वारा विरोध

उद्घोष सम्वाददाता
३० भदौ २०८१, आइतवार

विराटनगर । मोरङको रंगेली नगरपालिकाका सहायक स्तर पाँचौ तहका कर्मचारी सुधीर चौधरीमाथि आन्दोलनका नाममा गुण्डागर्दी शैलीमा कुटपिट भएको भन्दै पेशागत महासंघ मोरङले विरोध जनाएको छ ।

महासंघले आक्रमण र कुटपिटको घटनामा संलग्नलाई तत्कालै नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही नगरे पेशाकर्मीहरूको सुरक्षाका लागि जस्तोसुकै आन्दोलन अघि बढाउन बाध्य हुने चेतावनी दिएको छ ।

कर वृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका नेपाली काङ्ग्रेससम्वद्ध स्थानीय नेता कार्यकर्ताहरूले कर्मचारी चौधरीलाई गालीगलौज गर्नुका साथै कार्यालय प्रवेश गर्न लाग्दा कुटपिट समेत गरेका थिए ।

सेवा प्रवाहका लागि कार्यालय प्रवेश गर्ने क्रममा केही व्यक्‍तिहरूबाट आक्रमण गरी गुण्डागर्दी शैलीमा कुटपिट गरेको भन्दै आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई ज्ञापन बुझाएको पेशागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्माले बताए । उनले दोषीमाथि कानुनी कारवाही नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

‘रंगेलीमा भएको घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिई दोषीलाई कानुन बमोजिम कारवाहीको लागि जोडदार माग गर्दैछौँ’ शर्माले भने, ‘तत्काल कारवाही नभए पेसाकर्मीहरूको एवं कार्यस्थल सुरक्षाको लागि जस्तोसुकै आन्दोलन अघि बढाउन महासंघ बाध्य हुने व्यहोरा यसै ज्ञापन पत्रमार्फत अवगत गराउँदै सोबाट उत्पन्न हुने परिस्थितिप्रति सरोकारवाला नै जिम्मेवार हुने व्यहोरा समेत अवगत गराउन चाहन्छौँ ।’

स्थानीय तहले गरेका निर्णयहरू कार्यान्वयन गर्ने कार्यमा खटिएका राष्ट्रसेवक कर्मचारीहरूको कर्तव्य भएको अवस्थामा राजनैतिक समस्यालाई राजनीतिक रूपमै समाधान गर्नुको साटो कार्यालय प्रवेश गर्दैगरेका राष्ट्रसेवक कर्मचारीमाथि अमर्यादित तथा गुण्डागर्दी शैलीमा कुटपिट भएको भन्दै महासंघले प्रजिअ भट्टराईलाई ध्यानाकर्षण गराएको हो ।

कर्मचारीमाथि भएको आक्रमणलाई खेदजनक व्यवहार भएको महासंघका अध्यक्ष प्रकाश शर्मा र सचिव सालिगराम कोइरालाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।

‘इमान्दार र कर्तव्यनिष्ट कर्मचारीलाई जिम्मेवार दलका कार्यकर्ता तथा दलको संलग्नता देखिने गरि घटाइएको यस्तो घटना आफैँमा निन्दनीय र अशोभनीय रहेको यस महासंघको ठहर रहेको छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस्ता घटनाहरूबाट राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर भई सेवा प्रवाहमा समेत गम्भिर असर पर्ने भएकाले पेसाकर्मीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सुरक्षासँग सरोकार रहेका निकायहरूसँग जोडदार माग गर्दछौँ ।’

View : 249

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved