Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

उद्घोषको वार्षिकोत्सवमा पूर्व राष्ट्रपति भण्डारी

‘सुशासन  र जवाफदेहिता भएन, निराशा बढ्यो’

उद्‌घोष संवाददाता
३ भदौ २०८२, मङ्गलवार

विराटनगर । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध ओली कठोर रूपमा पेश भइरहँदा भण्डारीले पनि क्रमशः प्रतिवाद गरिरहेकी छिन् । 

अघिल्लो दिनसम्म पार्टी मुख्यालय च्यासलमा भण्डारीका लागि अलग कार्यकक्ष बनाई दिने बताइरहेका ओलीले साउन पहिलो साताको केन्द्रीय कमिटी बैठकमार्फत् भण्डारीको सदस्यता नै रोक्ने निर्णय गराएका थिए । 

ओलीको निर्णयको प्रतिवाद गर्दै भण्डारीले आफ्नो सदस्यता कसैले खोस्न नसक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएकी छिन् । यही क्रममा उद्घोष दैनिकको २१औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि बनेर सोमबार विराटनगर आएकी भण्डारीले यस पटक घुमाउरो रूपमा ओली र उनको नेतृत्व शैलीको आलोचना गरेकी छन् । 

यद्यपि लिखित मन्तव्य राखेकी भण्डारीले सोझै भन्नुको साटो घुमाउरो भाषा र शैलीमा ओली नेतृत्वको आलोचना गरेकी हुन् । 

दुई पटक मुलुकको राष्ट्रपति भइसकेकी, एमाले उपाध्यक्षका रूपमा लामो समय काम गरेकी अनुभवी राजनीतिज्ञ भण्डारीले मुलुकको वर्तमान अवस्थाको चित्रण गर्दै सुशासन नभएको, पारदर्शिता र जवाफदेहिताको अभाव रहेको बताइन् । नेतृत्वको यही शैलीले नागरिकमा निराशा बढाएको उनको ठहर छ । 

‘सुशासन र पारदर्शिताको अभाव तथा जनताप्रतिको कमजोर जवाफदेहिताले आज हाम्रो समाजमा गम्भीर नागरिक निराशा उत्पन्न गरेको छ’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् ‘राज्यप्रतिको विश्वास दिनानुदिन कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ ।’ 

सुशासनलाई व्यवहारमा उतार्नु पर्ने बताउँदै  भण्डारीले भनिन् ‘जबसम्म सुशासनलाई व्यवहारिकरूपमा हामी कार्यान्वयन गर्न सक्दैनौ तबसम्म विकास न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ ।’ 

आफ्नो मन्तव्यको बहुसंख्यक समय स्थानीय सञ्चारमाध्यमको महत्वका बारेमा बोलेकी भण्डारीले अहिलेको नेतृत्वप्रति कटाक्ष गर्न भने छुटाइनन् । 

प्राकृतिक र सांस्कृतिक स्रोतले सम्पन्न भएर पनि ती स्रोतको उपयोग हुन नसकेको भण्डारीको भनाइ थियो । 

‘हाम्रो देश प्राकृतिक स्रोत र सास्कृतिक सम्पदामा सम्पन्न भए पनि ती स्रोतको सदुपयोग हुन नसक्दा गरिबी र बेरोजगारी अझै पनि पूर्णरूपमा अन्त्य हुन सकेको छैन’ उनको भनाइ थियो ‘कृषिप्रधान मुलुक भए पनि खाद्यान्न र दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुन नसक्दा आयातमा अत्यधिक निर्भर हुनु परेको छ । जसले गर्दा हाम्रो व्यापार घाटा दिनानुदिन चुलिँदो अवस्थामा छ ।’

नागरिक निराशाबारे भण्डारीले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा युवाहरू विदेश जान बाध्य भएको पनि उल्लेख गरिन् । 

‘उच्च प्राविधिक तथा शिक्षित जनशक्तिको समेत विदेश पलायन बढ्दो छ’ उनले थपिन् ‘यसरी उर्जाशील युवा तथा दक्ष जनशक्तिको निरन्तर विदेश पलायनलाई रोक्न नसके राष्ट्रिय विकास उद्योग स्वास्थ्य शिक्षा र प्रविधिको विकासमा ठूलो समस्या आउन सक्दछ ।’

राष्ट्रिय आय मुख्यतः स्वदेशी उत्पादन र करमा आधारित हुनुपर्नेमा हाल वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण र आयातमा लगाइएको भन्सार शुल्कमा निर्भर रहेको बताउँदै उनले भनिन् ‘सीमित निर्यात पनि प्रायः विदेशी कच्चा पदार्थमा आधारित मूल्य अभिवृद्धि गरिएका वस्तुमा केन्द्रित रहेको छ । त्यसैले अब हामीले उपलब्ध स्रोतको सदुपयोग गर्दै स्वदेशी उत्पादन बढाउन युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारी उपलब्ध गराउन र राष्ट्रिय आयको आधार बलियो बनाउन कदम चाल्नु पर्दछ । यसो गरे मात्र हामी दिगो विकास र समृद्धिको मार्गमा अघि बढ्न सक्दछौं ।’

भ्रष्टाचार नेपालको समग्र विकासको मार्गमा मुख्य चुनौती भएको बताउ“दै भण्डारीले भनिन्  ‘आज पनि नेपालको समग्र विकासको मार्गमा  विभिन्न चुनौती र अवरोधहरू रहेका छन् । 

जसमा राजनीतिक अस्थिरता, सुशासन र पारदर्शिताको कमी, भ्रष्टाचार आर्थिक असमानता, सामाजिक पछौटेपन तथा ग्रामिण र सहरी विकासमा असन्तुलन मुख्य कुरा हुन् । यी चुनौतीहरूले केवल राष्ट्रिय स्रोतको सदुपयोगमा बाधा पु¥याउने मात्र नभई दिगो विकासका लक्ष्यहरू हासिल गर्न पनि कठिनाइ उत्पन्न गरिरहेको छ ।’

लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन पनि स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले स्थानीय सञ्चार माध्यमको संरक्षण र सबलीकरण सबैको साझा जिम्मेवारी भएको बताइन् । 

‘स्थानीय आवाजलाई प्राथमिकता दि“दा मात्र राष्ट्रिय विकासमा दीर्घकालीन र असर पार्न सकिन्छ । यस सन्दर्भमा विराटनगरबाट प्रकाशित उद्घोष दैनिकले पनि विगत लामो समयदेखि एक जिम्मेवार सञ्चार माध्यमको रूपमा यस क्षेत्रका स्थानीय सरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको छ’, भण्डारीको भनाइ थियो ‘यसले सरकार र नागरिकबीच प्रभावकारी सञ्चार पुलको रूपमा निर्वाह गरिरहेको भूमिका प्रशंसनीय छ । सत्य, निष्पक्षता र जनताको पक्षमा कलम चलाउने यस सञ्चार संस्थाको मेहनतले हाम्रो समाज अझ सचेत उत्तरदायी र प्रगतिशील बन्नेछ भन्ने मैले पूर्ण आशा राखेको छु ।’ 

भण्डारी विराटनगरमा राजनीतिक भेटघाटमा ब्यस्त छिन् । कार्यक्रमलगत्तै भण्डारी विराटनगरका पुराना वामपन्थी नेता लव प्रधानलाई भेट्न उनको घरैमा पुगेकी थिइन् । एमाले नेता विनोद ढकालले दिएको जानकारी अनुसार मंगलबार दिउँसो १ बजे उनी काठमाडौं फर्किने कार्यक्रम छ । त्यसअघि नेता–कार्यकर्ताहरूसँग भेटघाट र छलफल हुनेछ ।

भण्डारी उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि सहभागी थिए । विमानस्थलमा मुख्यमन्त्री कार्यालयकै राज्यमन्त्री सिर्जना राई पनि स्वागतमा पुगेकी थिइन् । राज्यमन्त्री राई भण्डारीकै जन्मथलो भोजपुरकी हुन् । 

भण्डारीलाई एमाले मोरङका नेताहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनी पक्षीय एमाले केन्द्रीय सदस्यहरू युवराज बाँस्कोटा, रामलाल साह नेताहरू विनोद ढकाल, सुबोध प्याकुरेल, मोरङ उपाध्यक्ष सागर थापालगायतका नेताहरू दिनभरि भण्डारीसँगै थिए ।

View : 575

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved